काठमाण्डौ । सेयरबजारमा १५ सय रुपैयाँ भन्दा बढी सेयरमूल्य रहेको एसवाई प्यानलको प्रतिसेयर आम्दानी (इपीएस) भने जम्मा ३.७५ रुपैयाँ छ ।
कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको इपीएस गत आवको तुलनामा घटेको छ । गत आवको सो अवधिसम्म कम्पनीको इपीएस ४.६७ रुपैयाँ थियो ।
यता कम्पनीको नाफा पनि घटेको छ । गत आवको चैत मसान्तसम्म ३ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले चालु आवको चैत मसान्तसम्म भने ३ करोड २ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । यसर्थमा कम्पनीको नाफा गत आवको तुलनामा १७.५९ प्रतिशतले घटेको छ ।
कम्पनीको आम्दानीमा भने सामान्य सुधार देखिएको छ । गत आवको चैत मसान्तसम्म ५१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले चालु आवको चैत मसान्तसम्म ५३ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको पीई रेसियो ४९१.४४ गुणा, रिटर्न अन इक्विटी (आरओई) २.८३ प्रतिशत, रिटर्न अन एसेस्ट २.३५ प्रतिशत र करेन्ट रेसियो १०.४९ गुणा रहेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ३० क रोड ८१ लाख रुपैयाँ रहेको छ ।
गत वर्षको मंसिर महिनामा मात्रै सूचीकृत यो कम्पनीको हालको सेयरमूल्य १५ सय रुपैयाँभन्दा बढी छ । नयाँ कम्पनी भएकाले यो कम्पनीमा लगानीकर्ताहरु आकर्षित छन्, जसकारण केही समयअघि यो कम्पनीको सेयरभाउ उचालेर २२ सय रुपैयाँभन्दा माथि पुर्याइएको थियो ।

