काठमाण्डौं । प्रतिनिधिसभाको बैठकमा उत्पन्न विवादका बीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) बैठक छोडेर बाहिरिएका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले नियमापत्ति जनाउँदै अघिल्लो दिन नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बोलेका केही शब्दमाथि आपत्ति जनाएका थिए।
उनीहरूले ‘रास्वपा’ र नेपाली सेनासम्बन्धी प्रसंगमा प्रयोग गरिएका अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन माग गरेका थिए।
यसपछि सभामुख डोलप्रसाद अर्यालले उक्त विवादित भनिएका शब्दहरू संसद्को आधिकारिक रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।
सभामुखको उक्त निर्णयप्रति विपक्षी दलहरूले कडा आपत्ति जनाउँदै बैठकमै विरोध शूरु गरेका थिए।
विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानमा उठेर विरोध जनाइरहेका बेला सभामुखले कार्यवाही अघि बढाइरहेका थिए।
तर, विपक्षीको विरोध निरन्तर जारी रहँदा संसदीय वातावरण तनावपूर्ण बनेको थियो।
यसै क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विपक्षीको आवाजलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका हुन्।
उनीसँगै सो पार्टीका अन्य सांसदहरू पनि बैठकबाट बाहिरिएका छन्।
बैठकमा भने नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका सांसदहरूले विरोध जारी राखेका थिए, जसका कारण संसद् केही समय अव्यवस्थित बनेको थियो।

