काठमाण्डौ । लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एलएस होराइजन १२’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । लक्ष्मी सनराइज बैंक कोष प्रवद्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत वैशाख ३० गतेदेखि खुला गरिएको थियो ।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ ४ गते हुने तय भएको थियो । तर मागबमोजिम आवेदन नपरेकाले यो योजनाको इकाई खरिदका लागि आवेदन दिने म्याद जेठ १३ गतेसम्मका लागि थप गरिएको छ । उक्त अवधिभित्र मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा निर्धारित मिति अगावै कुनैपनि दिन सूचना जारी गरी बिक्री आवेदन बन्द गरिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।
यो योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंकलाई सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

