काठमाण्डौं । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको भीषण बाढीपहिरोले ठूलो मात्रामा भौतिक संरचना, खेतीयोग्य जमिन र पशुधनमा क्षति पुर्याएको छ ।
असिनासहितको भारी वर्षापछि एक्कासी आएको बाढी र पहिरोले गाउँ नै प्रभावित बनेको स्थानीयवासीहरूले बताएका छन् ।
स्थानीयका अनुसार रातिको समयमा अचानक आएको बाढीपहिरोले नेप्का गाउँमा व्यापक विनाश गरेको छ ।
प्रारम्भिक विवरणअनुसार गाउँमा रहेको डाँफे आधारभूत विद्यालय पूर्ण रूपमा बगाएको छ ।
विद्यालय भवन मात्र नभई आसपासका संरचनासमेत बाढीको चपेटामा परेर क्षतिग्रस्त बनेको स्थानीयले जानकारी दिएका छन् ।
त्यस्तै बाढीले गाउँभरिका खेतीयोग्य जमिनमा पनि ठूलो असर पारेको छ ।
विशेषगरी कोदो खेती गरिने खेतहरू बाढीले बगाएर पूर्ण रूपमा क्षतविक्षत बनाएको बताइएको छ ।
स्थानीय कृषकहरूका अनुसार वर्षभरि मेहनत गरेर लगाइएको बालीसमेत नष्ट भएपछि ठूलो आर्थिक नोक्सानी भएको छ ।
चंखेली गाउँपालिका–५ का स्थानीय बासिन्दा छक्कबहादुर तामाङका अनुसार राति आएको बाढीले गाउँका विभिन्न बस्तीमा एकैपटक असर पारेको थियो ।
उनका अनुसार बाढीको वेगले जमिन खोतल्दै खेत, बाटो र संरचना सबै बगाएको छ, जसले गाउँको दैनिक जीवन नै अस्तव्यस्त बनाएको छ ।
यसैबीच वडा अध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठसमेत पहिरोले पुरेको पुष्टि भएको छ ।
ती गोठमा रहेका भेँडाबाख्रासहितका पशुधनमा क्षति पुगेको आशंका गरिएको भएपनि यकिन संख्या अझै प्राप्त हुन सकेको छैन ।
स्थानीयले पशुधन ठूलो मात्रामा नष्ट भएको हुन सक्ने अनुमान गरेका छन् ।
वडाध्यक्ष हर्कधन तामाङले आफू गाउँपालिकाको केन्द्रमा रहेका बेला घटनाबारे जानकारी पाएको बताएका छन् ।
उनका अनुसार गोठ पुरिएको र पशुधनमा क्षति पुगेको प्रारम्भिक सूचना प्राप्त भएपनि पूर्ण विवरण आउन बाँकी छ ।
उनले भने, “राति अचानक बाढी–पहिरो आएको रहेछ, मेरो र धनसिंह तामाङको गोठ पुरिएको खबर आएको छ, अहिले विस्तृत विवरण संकलन भइरहेको छ।”
उनका अनुसार गाउँमा धेरै खेतबारी पूर्ण रूपमा बगेर नष्ट भएका छन् ।
“कोदो खेती हुने जमिन सबैजसो तहसनहस भएको खबर आएको छ, तर रातिको घटना भएकाले क्षतिको यकिन विवरण अझै आउन सकेको छैन,” उनले बताए ।
घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय भएका छन् ।
मेल्छाम प्रहरी चौकीबाट प्रहरी टोली बिहानै घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
तर, दुर्गम भूगोल, कठिन बाटो र यातायात सुविधा नहुँदा उद्धार तथा क्षति मूल्यांकन कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले नेप्का गाउँ अत्यन्त दुर्गम क्षेत्रमा पर्ने भएकाले तत्काल विस्तृत विवरण प्राप्त गर्न कठिन भइरहेको बताएका छन् ।
उनका अनुसार प्रारम्भिक सूचनामा ठूलो क्षति भएको देखिए पनि स्थलगत रूपमा पुष्टि हुन बाँकी छ ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले स्थानीय तह र प्रहरीमार्फत विवरण संकलनको काम भइरहेको जानकारी दिँदै अहिले उद्धार र मूल्यांकन दुवै प्रक्रिया चलिरहेको बताए ।
भौगोलिक रूपमा विकट रहेको चंखेली गाउँपालिका हुम्ला सदरमुकाम सिमकोटबाट उत्तरपूर्वमा पर्छ ।
यहाँ तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार वटा गाउँहरू रहेका छन् । नेप्का गाउँ वडा नम्बर ५ अन्तर्गत पर्दछ ।
यस क्षेत्रमा सडक सञ्जाल नहुँदा स्थानीयले जोखिमपूर्ण पहाडी बाटो हुँदै करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।
यही दुर्गमताका कारण बाढीपहिरो जस्ता प्राकृतिक विपद्का बेला तत्काल राहत, उद्धार र सहायता पुर्याउन थप चुनौती उत्पन्न हुने गरेको स्थानीयको भनाइ छ ।

