Bizshala
  • मंगलवार, असार २३,२०८३ 04:05:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीन सातापछि खुल्यो भारततर्फ चिया निर्यातको बाटो, टी बोर्डको अनिवार्य नमूना परीक्षण फिर्ता

Laxmi Sunrise Bank Limited
तीन सातापछि खुल्यो भारततर्फ चिया निर्यातको बाटो, टी बोर्डको अनिवार्य नमूना परीक्षण फिर्ता

काठमाण्डौं । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा विगत तीन सातादेखि देखिँदै आएको अवरोध अन्ततः हटेको छ।  

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा लागू गरिएको अनिवार्य नमूना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) सम्बन्धी प्रावधान फिर्ता लिएपछि नेपाली चिया निर्यात पुनः सहज बनेको हो।

New Office
CG Motors
Garima Development Bank

टी बोर्डले मंगलबार राति जारी गरेको संशोधित सूचना (कोरिजेन्डम–२)  मार्फत पुरानो व्यवस्था परिमार्जन गरेपछि बुधबारदेखि नेपालबाट भारततर्फ चिया निकासी पूर्ववत् रूपमा सञ्चालन हुने बाटो खुलेको छ।  

यससँगै लामो समयदेखि रोकिएको व्यापारिक गतिविधि पुनः सामान्य अवस्थामा फर्किएको व्यवसायीहरूले बताएका छन्।

यो समस्या समाधानमा नेपाल सरकारको कूटनीतिक पहल महत्वपूर्ण रहेको बताइएको छ।  

परराष्ट्र मन्त्रालय तथा भारतस्थित नेपाली दूतावासको निरन्तर संवादपछि भारत सरकार सकारात्मक बनेको हो।  

भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाका अनुसार दुवै पक्षको समन्वय र पहलका कारण चिया निर्यातमा देखिएको अवरोध हटाउन सफल भएको हो।

संशोधित व्यवस्थाअनुसार अब भारतको आन्तरिक बजारमा उपभोग हुने चिया र पुनः निर्यात (रि–एक्सपोर्ट) हुने चियाका लागि अलग–अलग परीक्षण प्रणाली लागू हुने भएको छ।  

आन्तरिक बजारका लागि जाने चियामा टी बोर्डको अनिवार्य परीक्षण हटाइएको छ।

यद्यपि भन्सार कार्यालय वा भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले आवश्यक परे जोखिमका आधारमा छड्के नमूना परीक्षण गर्न सक्ने व्यवस्था भने कायम छ।

यसको अर्थ अब नेपालबाट भारतको आन्तरिक बजारका लागि जाने चिया बोकेका ट्रकहरू नाकामा रोकेर अनिवार्य रूपमा परीक्षण गरिरहनुपर्ने बाध्यता हटेको छ।  

व्यवसायीहरूले यसलाई ठूलो राहतको रूपमा लिएका छन्, किनभने यही प्रावधानका कारण निर्यात प्रक्रियामा ढिलाइ र लागत वृद्धि भएको थियो।

तर, भारतमा आयात भई तेस्रो मुलुकमा पुनः निर्यात हुने चियाका लागि भने कडा परीक्षण नियम कायम राखिएको छ। 

यस्ता कन्साइनमेन्टहरू टी बोर्डको १० फेब्रुअरी २०२६ मा जारी स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) अनुसार अनिवार्य परीक्षण प्रक्रियामा पर्नेछन्।

त्यसैगरी, परीक्षण प्रतिवेदन तयार हुने समय पनि घटाइएको छ।

पहिले ल्याब परीक्षण रिपोर्ट आउन कम्तीमा १५ दिन लाग्ने व्यवस्था थियो भने अब सम्बन्धित प्रयोगशालाले नमूना प्राप्त गरेको मितिबाट अधिकतम ५ दिनभित्र अनलाइन रिपोर्ट अपलोड गर्नुपर्नेछ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसलाई व्यापार सहजीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

भारतले केही समयअघि लागू गरेको नयाँ एसओपीका कारण प्रत्येक ट्रकमा नमूना परीक्षण शुल्क तिर्नुपर्ने र लामो समयसम्म रिपोर्ट कुर्नुपर्ने व्यवस्था बनेपछि नेपालबाट चिया निर्यात पूर्ण रूपमा ठप्प भएको थियो।  

यही कारण नेपाली चिया उद्योग गम्भीर दबाबमा परेको थियो।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार हालको निर्णयले तत्कालका लागि निर्यात अवरोध हटेको छ।  

उनले भारतले अनिवार्य परीक्षण व्यवस्था फिर्ता लिएपछि उद्योगी, किसान र व्यवसायी सबैलाई राहत मिलेको बताए।

यद्यपि उनले यो व्यवस्था स्थायी रूपमा हटेको हो वा अस्थायी मात्र भन्ने विषय अझै स्पष्ट नभएको पनि उल्लेख गरे।  

उनका अनुसार भविष्यमा भारतले नयाँ कार्यविधि वा प्रणाली ल्याउन सक्ने सम्भावना कायमै छ, जसले फेरि केही परिवर्तन ल्याउन सक्छ।

त्यस्तै, नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीले पनि भारतको पछिल्लो निर्णयले तात्कालीन समस्या समाधान भएको बताएका छन्।  

उनका अनुसार लामो समयको अवरोधपछि निर्यात खुल्दा चिया उद्योगमा सकारात्मक वातावरण बनेको छ।

भारतले यसअघि लागू गरेको कडा परीक्षण नियमअनुसार प्रत्येक ट्रकमा ११ हजार १२० भारतीय रुपैयाँ शुल्क तिरेर नमूना परीक्षण गर्नुपर्ने र रिपोर्ट आउन करिब दुई साता कुर्नुपर्ने व्यवस्था थियो।  

यही प्रावधानका कारण चिया निर्यात रोकिएको थियो।

भन्सार विभागका तथ्यांकअनुसार चिया नेपालको प्रमुख निर्यात वस्तुमध्ये एक हो।

गत आर्थिक वर्षमा मात्रै नेपालबाट भारततर्फ करिब ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो।  

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको निर्यात भइसकेको छ।

निर्यात अवरोध हटेसँगै व्यवसायीहरूले अब चिया व्यापार पुनः सामान्य अवस्थामा फर्किने र निरन्तरता पाउने अपेक्षा व्यक्त गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.