काठमाण्डौं । खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महसुलमा छुट दिन माग गर्दै उपभोक्ता अधिकारकर्मीहरूले काठमाडौंको बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को अगुवाइमा भएको उक्त प्रदर्शनमा विभिन्न उपभोक्ता समूह तथा अधिकारवादी संस्थाहरू सहभागी भएका थिए।
उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै उपभोक्तामाथि थप आर्थिक भार नपार्न आग्रह गरेका थिए।
प्रदर्शनकारीहरूले सरकारलाई ध्यानाकर्षण गराउँदै उपभोक्ता हितसँग सम्बन्धित नीतिगत व्यवस्था तत्काल पुनरावलोकन गर्न माग गरेका छन्।
उनीहरूको भनाइमा खानेपानी र विद्युत जस्ता आधारभूत सेवामा कर तथा शुल्कले सर्वसाधारणलाई अनावश्यक आर्थिक दबाब सिर्जना गरेको छ।
आन्दोलनरत समूहहरूले सन् २०३० भित्र सबै नागरिकलाई सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
साथै, साना तथा छरिएका खानेपानी आयोजनाहरूलाई एकीकृत गरी प्रभावकारी र दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।
त्यस्तै, खानेपानी तथा विद्युत सेवामा लाग्दै आएको कर तथा महसुल संरचना पुनरावलोकन गरी उपभोक्तामैत्री बनाउनुपर्ने माग पनि प्रदर्शनमार्फत उठाइएको छ।
सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र दिगो बनाउन सरकारले जिम्मेवार भूमिका खेल्नुपर्ने उनीहरूको जोड छ।
प्रदर्शनका क्रममा सहभागीहरूले खोला, कुलो, पोखरीलगायत प्राकृतिक जलस्रोतहरूको संरक्षणमा सरकार उदासीन रहेको आरोप लगाउँदै तिनको संरक्षण तथा पुनर्जीवनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्।
उनीहरूले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि वृक्षारोपणलाई पनि प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
फेडवासनले सरकारलाई बुझाएको ध्यानाकर्षण पत्रमार्फत खानेपानी तथा विद्युत जस्ता आधारभूत सेवामा पहुँचलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

