काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरेक दिन अर्बौं रुपैयाँ बराबरको सेयर किनबेच भइरहेको छ। सामान्य लगानीकर्ताले सेयर बेच्दा नियमअनुसार पुँजीगत लाभकर तिर्नुपर्छ। तर, ठूलो लगानीकर्ता, कम्पनीका प्रमोटर र पहुँचवालाहरूले भने कानुनी कमजोरी प्रयोग गरेर कर छल्ने गरेको विषय महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ।
महालेखाका अनुसार सबैभन्दा धेरै चलखेल ‘प्रमोटर सेयर’ लाई ‘साधारण सेयर’ मा बदल्ने प्रक्रियामा हुने गरेको छ। सुरुमा संस्थापकहरूले प्रतिकित्ता १०० रुपैयाँका दरले किनेको सेयर कम्पनीको व्यवसाय बढ्दै जाँदा बजारमा सयौंदेखि हजार रुपैयाँसम्म पुग्ने गर्छ।
कानुनअनुसार यस्ता संस्थापक सेयर बिक्री गर्दा बढी दरमा कर लाग्नुपर्ने हुन्छ। तर, केही ठूला लगानीकर्ताले आफ्नो प्रमोटर सेयरलाई साधारण सेयरमा रूपान्तरण गराएर दोस्रो बजारमा बिक्री गर्ने र कम दरको पुँजीगत लाभकर मात्रै तिर्ने गरेको महालेखाले उल्लेख गरेको छ।
यसरी ठूलो रकममा नाफा कमाउँदा पनि न्यून कर तिरेर बाँकी रकमलाई ‘वैधानिक आम्दानी’ जस्तै देखाउने प्रवृत्ति बढेको प्रतिवेदनको निष्कर्ष छ। महालेखाले यस्तो कारोबारलाई साधारण लगानी नभई व्यावसायिक आम्दानी मानेर ३० प्रतिशतसम्म आयकर असुल गर्नुपर्ने सुझाव दिएको छ।
प्रतिवेदनले अर्को गम्भीर विषयका रूपमा ‘अफ–मार्केट’ सेयर कारोबारलाई पनि उठाएको छ। कतिपय ठूला सेयरधनीहरूले नेप्सेको नियमित कारोबार प्रणालीबाहिरै आपसी सहमति, परिवारभित्र अंशबण्डा, उपहार वा अन्य बहानामा लाखौं कित्ता सेयर हस्तान्तरण गर्ने गरेको पाइएको छ।
यस्तो कारोबारमा वास्तविक उद्देश्य कर नतिरी सेयरको स्वामित्व परिवर्तन गर्नु रहेको महालेखाको भनाइ छ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र आन्तरिक राजस्व विभागबीच प्रभावकारी समन्वय नहुँदा यस्ता कारोबारको निगरानी कमजोर बनेको पनि प्रतिवेदनमा उल्लेख छ। यही कमजोरीको फाइदा उठाउँदै ‘ब्लक ट्रेड’ र ‘म्युचुअल फन्ड’ जस्ता माध्यम प्रयोग गरेर अर्बौं रुपैयाँ बराबरको पुँजीगत लाभकर छलिएको महालेखाको दाबी छ।
महालेखाले अब प्रमोटर सेयर रूपान्तरण, अफ-मार्केट कारोबार र ठूलो परिमाणका सेयर हस्तान्तरणमाथि कडाइ गर्न सरकारलाई सुझाव दिएको छ।

