बिहीबार, असार ३२,२०८३ 09:03:43
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 09:03:43
Bizshala
Global IME Bank Limited

बैंक कर्मचारीलाई ओभरटाइम भुक्तानी अनिवार्य, विशेष ग्राहकका लागि छुट्टै काउन्टर राख्न राष्ट्र बैंकको निर्देशन

बैंक कर्मचारीलाई ओभरटाइम भुक्तानी अनिवार्य, विशेष ग्राहकका लागि छुट्टै काउन्टर राख्न राष्ट्र बैंकको निर्देशन
New Office

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा–सुविधा र ग्राहक सेवा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ ।  

एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै केन्द्रीय बैंकले कार्यालय समयभन्दा बाहिर कर्मचारीलाई काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम) उपलब्ध गराउनुपर्ने स्पष्ट निर्देशन दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको संशोधित व्यवस्थाअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई नियमित कार्यालय समयभन्दा बढी समय काम गर्न बाध्य बनाउन पाउने छैनन् ।  

विशेष परिस्थितिमा अतिरिक्त समय काम गराउनुपर्ने अवस्था आएमा भने प्रचलित श्रम तथा सम्बन्धित कानूनअनुसार ओभरटाइम सुविधा दिनुपर्ने व्यवस्था गरिएको छ ।

यस व्यवस्थाले बैंकिङ क्षेत्रमा कर्मचारीको कामको समय, श्रम अधिकार तथा पारिश्रमिक सम्बन्धी विषयलाई थप स्पष्ट र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।  

पछिल्लो समय बैंकिङ क्षेत्रमा कार्यचाप बढेको गुनासो आइरहेका बेला राष्ट्र बैंकको यो कदमलाई कर्मचारीमैत्री व्यवस्थाका रूपमा हेरिएको छ ।

त्यसैगरी, ग्राहक सेवा पहुँचलाई थप समावेशी र सहज बनाउन राष्ट्र बैंकले बैंकहरूलाई नयाँ दायित्वसमेत तोकेको छ ।  

अब सबै बैंक तथा वित्तीय संस्थाले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अशिक्षित सेवाग्राहीका लागि अनिवार्य रूपमा विशेष सेवा काउन्टरको व्यवस्था गर्नुपर्नेछ ।

संशोधित निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा बैंक शाखालाई अपाङ्गमैत्री बनाउनु अनिवार्य गरिएको छ ।  

यस्ता शाखामा सहज पहुँच, आवश्यक भौतिक संरचना तथा विशेष सेवा सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसका साथै, अपाङ्गमैत्री शाखाहरूको विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्ना आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ, ताकि सेवाग्राहीले आफूलाई उपयुक्त शाखाबारे सहज रूपमा जानकारी लिन सकून् ।

राष्ट्र बैंकको यो नयाँ निर्देशनले बैंकिङ सेवा वितरणलाई थप उत्तरदायी, समावेशी र श्रममैत्री बनाउने लक्ष्य लिएको देखिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.