काठमाण्डौ । नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौको रमाडा बाई विन्डह्याम होटलमा सम्पन्न भएको छ । सो अवसरमा नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टको सम्मानमा स्वागत समारोह समेत आयोजना गरिएको थियो ।
३१औं वार्षिक साधारणसभाले नेपाल र अस्ट्रेलियाबीचकोआर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यका साथ संघका गतिविधि, उपलब्धि र भावी योजनाहरूको समीक्षा गरेको छ । सभामा सदस्यहरूले संघका प्रमुख पहलहरूमाथि छलफल गर्नुका साथै वार्षिक प्रतिवेदनको समीक्षा गरेका थिए । सो अवसरमा नवनिर्वाचित सदस्यहरूलाई स्वागत पनि गरिएको थियो ।
साथै, दुई देशबीचको द्विपक्षीय व्यापार, लगानी, पर्यटन, शिक्षा र व्यावसायिक सहयोगलाई अगाडि बढाउने संघको प्रतिबद्धतामा साधारणसभाका सहभागीहरुले पुनः जोड दिए । साधारणसभा सम्पन्न भएपछि संघले नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टको सम्मानमा विशेष स्वागत समारोहको आयोजना गरेको थियो, जसमा नेपाल सरकारका प्रतिनिधि,कूटनीतिक नियोग, व्यावसायिक क्षेत्रका अगुवा, उद्यमी, शैक्षिक क्षेत्रका सरोकारवाला, संघका सदस्य तथा अन्य आमन्त्रित पाहुनाको उपस्थिति रहेको थियो ।
पाहुनाहरूलाई स्वागत गर्दै संघका अध्यक्ष अखिलकुमार चापागाईंले तीन दशकभन्दा बढी समयदेखि नेपाल–अस्ट्रेलिया सम्बन्ध प्रवद्र्धनमा संघले निर्वाह गरेको भूमिकामाथि प्रकाश पारे । उनले विगतका वर्षहरूमा अस्ट्रेलियामा भएका विभिन्न व्यापारिक मेला तथा व्यवसाय प्रवद्र्धनका गतिविधिहरूमा सहभागिता जनाएको स्मरण गर्दै द्विपक्षीय व्यापार, लगानी, पर्यटन, शिक्षा र जनस्तरको सम्बन्धलाई सुदृढ बनाउन संघले निरन्तर प्रयास गरिरहेको जानकारी गराए ।
कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टको उपस्थितिलाई संघले नेपाल र अस्ट्रेलियाबीचको बलियो र बढ्दो साझेदारीको प्रतिबिम्ब मानेको छ । कार्यक्रममा परराष्ट्र मन्त्रालय, सरकारी निकाय, निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधि तथा नेपाल र अस्ट्रेलियाका व्यावसायिक समुदायका सदस्यहरूको समेत सहभागिता रहेको थियो । मन्तव्यका क्रममा अध्यक्ष चापागाईंले नेपाल र अस्ट्रेलियाले व्यापार, वाणिज्य, शिक्षा, पर्यटन,नवप्रवर्तन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोगलाई थप गहिरो बनाउने विश्वास व्यक्त गरे । उनले सहकार्य र पारस्परिक वृद्धिका लागि नयाँ अवसरहरू सिर्जना गर्न अस्ट्रेलियाली दूतावास र सम्बन्धित सरोकारवालाहरूसँग मिलेर काम गर्ने संघको प्रतिबद्धता पुनः दोहोर्याए ।
उक्त स्वागत समारोहले प्रमुख सरोकारवालाहरूबीच नेटवर्किङ र संवादका लागि एक उत्कृष्ट प्लेटफर्म प्रदान गर्नुका साथै आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई सुदृढ पार्ने दुवै देशको साझा प्रतिबद्धतालाई थप बलियो बनाएको छ । चापागाईंकै नेतत्वमा नयाँ कार्यसमिति जेठ ८ गते शुक्रबार सम्पन्न नेपाल अस्ट्रेलिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको ३१औं वार्षिक साधारणसभाले अखिलकुमार चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा बिक्रम राई, उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महासचिवमा माधब गिरी, कोषाध्यक्षमा सुशीलल कडरिया, सचिवमा अम्बिका शर्मा लामिछाने र कोषाध्यक्षमा शेरबहादुर कुँवर चुनिनुभएको
छ । कार्यसमितिका सदस्यहरुमा अनोज रिमाल, प्रेम पाण्डे, निरज तिमल्सिना, माइकल कर्माचार्य, बिनय उपाध्याय, गोकर्ण लामिछाने, विजयप्रसाद गुप्ता र शैलेन्द्र बुढाथोकी चुनिनुभएको संघले जनाएको छ ।
संक्षेपमा नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य संघ नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य संघ नेपाल र अस्ट्रेलियाबीच व्यापार, लगानी, पर्यटन, शिक्षा र सांस्कृतिक सम्बन्धलाई प्रवद्र्धन गर्न समर्पित नेपालको एक अग्रणी द्विराष्ट्रिय उद्योग वाणिज्य संघ हो ।
तीन दशकभन्दा बढी समयदेखि संघलेदुवै देशका व्यवसाय, संस्था र व्यक्तिहरूलाई जोड्ने पुलको रूपमा काम गर्दै बलियो द्विपक्षीय सहयोग र आर्थिक वृद्धिमा योगदान पुर्याउँदै आएको छ ।

