काठमाण्डौ । दुई सामूहिक लगानी कोष/योजना (म्युचुअल फण्ड)को अवधि सकिँदैछ । एनएमबि क्यापिटल लिमिटेडद्वारा संचालित ‘एनएमबि ५०’ र सिटिजन्स क्यापिटल लिमिटेडद्वारा संचालित ‘सिटिजन्स म्युचुअल फण्ड २’को परिपक्व अवधि अब केही महिनामा सकिदैछ ।
मुख्यतः बन्दमुखी योजनाहरु केही अवधिका लागि संचालनमा ल्याइएका हुन्छन् । तोकिएको समय जस्तै ५ वर्ष वा ७ वर्षका लागि संचालन गरिएपछि यस्ता बन्दमुखी योजनाका स्किमहरु बन्द हुने गर्दछ ।
फण्डले सो अवधिसम्म लगानी (सेयर, बण्ड आदि)बेचेर प्राप्त रकमबाट इकाईधनी वा लगानीकर्तालाई आफ्नो युनिटअनुसार रकम फिर्ता गर्दछ । फण्डहरुले विशेषगरी सूचीकृत सेयरमा लगानी गरेर त्यसबाट आर्जित मुनाफाको आधारमा वर्षेनी लगानीकर्तालाई प्रतिफल दिएका हुन्छन् ।
अवधि परिपक्व भएपश्चात् भने फण्डहरुले आफ्ना इकाईधनीहरुलाई अन्तिम दिनको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)को आधारमा रकम गणना गरेर फिर्ता गर्दछ । जस्तैः लगानीकर्ताले कुनै पनि फण्डमा १ हजार इकाई लगानी गरेको छ भने अन्तिम न्याभ भ्यालु १२ रुपैयाँ छ भने उक्त लगानीकर्ताले १२ हजार रुपैयाँ थप प्रतिफल पाउन सकिनेछ, तर त्यसमा कर शुक्ल कटौती हुन सक्छ ।
सामूहिक लगानी योजना तथा कोषहरुले फण्डको इकाई निष्कासन गर्दा १० रुपैयाँ इकाई मूल्यमा न्यूनतम १०० इकाई खरिद गर्न सक्नेगरी इकाई बिक्री खुलाएको हुन्छ । जसअनुसार लगानीकर्ताले न्यूनतम १००० रुपैयाँमा सय इकाई खरिद गर्नुपर्ने व्यवस्था छ ।
विशेषगरी म्युचुअल फण्डमा गरिएको लगानी सुरक्षित मानिन्छ । फण्डमा गरिएको लगानीबाट केही प्रतिशत भएपनि प्रतिफल पाउने ग्यारेन्टी हुन्छ । जस्तै तपाईले कुनै एउटा फण्डमा १० लाख रुपैयाँ बराबरको १ लाख इकाई फण्डमा लगानी गर्नुभएको छ अन्तिममा १ लाख इकाई बराबर रकम न्याभको आधारमा प्राप्त गर्न सकिन्छ ।
जस्तै, एक लाख इकाई बराबरको लगानी छ भने अन्तिममा न्याभ १५ रुपैयाँ छ भने अवधि सकिएपछि १५ लाख रुपैयाँ प्राप्त हुनेछ । यसमा लगानीकर्ताको सुरुवाती लगानी भने १० लाख रुपैयाँ कटौती भएको हुन्छ ।
यसबाहेक फण्डहरुले दिने वर्षेनी प्रतिफल पनि सोही आधारमा नै प्राप्त हुन जान्छ । जस्तै एउटा फण्डले एक आर्थिक वर्षमा २० प्रतिशत लाभांश वितरण गरेको छ भने १० लाख रुपैयाँ बराबरको १ लाख इकाई लगानी रहेको खण्डमा २० हजार रुपैयाँ प्रतिफल प्राप्त हुन जान्छ ।
दुई म्युचुअल फण्डको पनि अवधि अब चाँडै सकिँदैछ । एनएमबि ५० को अवधि २०८३ भदौ १६ गते र सिटिजन्स म्युचुअल फण्ड–२ को २०८३ असार २४ गते सकिँदैछ । एनएमबि ५० को पछिल्लो न्याभ १०.७६ रुपैयाँ र सिटिजन्स म्युचुअल फण्ड–२ को अन्तिम न्याभ १०.५२ रुपैयाँ रहेको छ ।
सिटिजन्स म्युचुअल फण्डले ५ वर्षको लागि योजना संचालनमा ल्याएको हो । यो फण्डले पहिलो आवमा १० प्रतिशत, दोस्रो आवमा ४० प्रतिशत, तेस्रो आवमा ८ प्रतिशत, चौथो आवमा ६.५ प्रतिशत र गत आवमा ८.२५ प्रतिशत लाभांश वितरण गरेको छ । यसर्थमा फण्डले सुरुवातमा उत्कृष्ट लाभांश बाँडेपनि अन्तिमका वर्षमा घटाएको देखिन्छ । ओभरलमा फण्डले मध्यम खालको लाभांश बाँडेको देखिन्छ ।
त्यस्तै, एनएमबि ५० ले ७ वर्षको लागि योजना संचालनमा ल्याएको हो । यो फण्डको लाभांश इतिहास हेर्दा राम्रै देखिन्छ । फण्डले सुरुको आवमा ५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछि ३० प्रतिशत, २१.०५ प्रतिशत गर्दै तीन आवमा १५ प्रतिशत लाभांश बाँडेको छ । फण्डले चालु आवको लाभांश भने आव सकिएपछि वितरण गर्नेछ ।

