काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव समाधानका लागि अत्यन्त मैत्रीपूर्ण वार्ता भइरहेको बताएका छन्। उनले कूटनीतिक प्रयास सफल भएमा जारी संघर्ष अन्त्य हुने राम्रो सम्भावना रहेको दाबी गरेका छन्।
एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले शुक्रबार इरानमाथि भइरहेको अमेरिकी सैन्य कारबाही रोक्ने निर्णय गरेको बताए। उनका अनुसार मध्यस्थता गरिरहेका देशहरूले वार्ताका लागि थप अवसर दिन आग्रह गरेपछि अमेरिकाले आक्रमण रोक्ने निर्णय गरेको हो।
तर ट्रम्पले वार्ता असफल भएमा अमेरिका पुनः अघिल्लो सैन्य कारबाहीको बाटोमा फर्किन सक्ने चेतावनी दिएका छन्।
यसैबीच, इरानले अमेरिकासँग आफ्नो प्रत्यक्ष वार्ता भइरहेको भन्ने दाबी अस्वीकार गरेको छ। तेहरानले अमेरिका र इरानबीचको सम्पर्क मध्यस्थकर्तामार्फत भइरहेको बताएको छ।
दुवै पक्षले लगातार तेस्रो दिन एक–अर्कामाथि कुनै नयाँ हमला नगरेपछि क्षेत्रमा केही समयका लागि तनाव कम भएको देखिएको छ। यो अवस्था करिब दुई सातासम्म चलेको अमेरिकी हवाई आक्रमण र त्यसको जवाफी कारबाहीपछि आएको हो।
अमेरिकी सेनाले यसअघि आफ्नो कारबाहीको उद्देश्य हर्मुज जलमार्ग हुँदै जाने व्यावसायिक जहाजहरूको सुरक्षामा देखिएको जोखिम घटाउनु रहेको बताएको थियो। उक्त क्षेत्र विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिन्छ।

