बुधबार, जेष्ठ १३,२०८३ 03:41:10
Bizshala
  • बुधबार, जेष्ठ १३,२०८३ 03:41:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उपभोगमै अडिएको अर्थतन्त्र, उत्पादन अझै कमजोर

६६ खर्बको अर्थतन्त्रमा ९० प्रतिशत हिस्सा उपभोगको, कृषि र उद्योग क्षेत्र सुस्त

Laxmi Sunrise Bank Limited
उपभोगमै अडिएको अर्थतन्त्र, उत्पादन अझै कमजोर
Shivam Cement

काठमाण्डौ । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ नाघ्दा पनि त्यसको मेरुदण्ड अझै उत्पादन होइन, उपभोग नै बनेको देखिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले अर्थतन्त्रको बाहिरी सूचकमा सुधार देखिए पनि भित्रभित्रै उत्पादन, कृषि, निजी क्षेत्रको कर्जा विस्तार र विकास खर्चजस्ता आधारभूत पक्ष कमजोर बनेको संकेत गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब ९ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिए पनि कुल जीडीपीमा उपभोगको हिस्सा ९० प्रतिशतभन्दा माथि पुगेको तथ्यले नेपाल अझै उत्पादनमुखी अर्थतन्त्र बन्न नसकेको स्पष्ट देखाएको छ ।

सर्वेक्षणअनुसार कुल उपभोगमा निजी क्षेत्रको हिस्सा मात्रै ९१.२६ प्रतिशत रहेको छ । सरकारी क्षेत्रको हिस्सा ६.६२ प्रतिशत र गैरसरकारी क्षेत्रको हिस्सा २.१२ प्रतिशत रहने अनुमान गरिएको छ । अर्थशास्त्रीहरूका अनुसार उत्पादनभन्दा उपभोगमा आधारित अर्थतन्त्र दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन्छ, किनकि यस्तो संरचनाले आयात निर्भरता, व्यापार घाटा र रेमिट्यान्समाथिको अत्यधिक भरलाई बढावा दिन्छ ।

Bizshala
New Office
CG Motors

सरकारले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ डलर तथा प्रतिव्यक्ति खर्चयोग्य आय २ हजार ४४ डलर पुग्ने अनुमान गरेको छ । तर प्रदेशगत असमानता भने अझै गहिरो देखिएको छ । बागमती प्रदेशको प्रतिव्यक्ति आय २ हजार ६४४ डलर पुगे पनि मधेश प्रदेशको प्रतिव्यक्ति आय ९३४ डलरमै सीमित रहने अनुमान गरिएको छ ।

अर्थतन्त्रमा बागमती प्रदेशको दबदबा अझै कायमै छ । कुल जीडीपीमा बागमतीको योगदान ३६.७ प्रतिशत छ भने कर्णाली प्रदेशको हिस्सा केवल ४.२ प्रतिशत रहेको छ । गण्डकी र बागमती प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहे पनि अन्य प्रदेशहरू भने पछाडि परेका छन् ।

सर्वेक्षणले नेपाली अर्थतन्त्रको संरचनामा कृषि क्षेत्र क्रमशः कमजोर हुँदै गएको तथ्य पनि उजागर गरेको छ । चालु आर्थिक वर्षमा जीडीपीमा कृषि क्षेत्रको योगदान २४ प्रतिशतमा झरेको छ भने गैरकृषि क्षेत्रको हिस्सा बढेर ७६ प्रतिशत पुगेको छ । पछिल्लो दशकमा सेवा क्षेत्रको विस्तार तीव्र हुँदा कृषि क्षेत्रको हिस्सा निरन्तर खुम्चिएको देखिएको हो ।

विशेषगरी धान उत्पादनमा आएको गिरावटले कृषि क्षेत्रलाई गम्भीर धक्का दिएको छ । धान रोपाइँको समयमा परेको खडेरी र भित्र्याउने बेलामा भएको अत्यधिक वर्षाका कारण यस वर्ष धान उत्पादन ४.१६ प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित हुने अनुमान गरिएको छ । कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा खुम्चिएको छ, जुन गत वर्ष ३.०५ प्रतिशत थियो ।

यद्यपि गहुँ, मकै, कोदो, औद्योगिक बाली तथा पशुजन्य उत्पादनमा सुधार भएका कारण कृषि क्षेत्र पूर्ण रूपमा ऋणात्मक बन्नबाट जोगिएको सर्वेक्षणले जनाएको छ । सरकारले कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत २१ सुपरजोन, २०६ जोन, १ हजार ६९९ ब्लक र ९ हजार ३९३ पकेट क्षेत्र सञ्चालनमा ल्याएको उल्लेख गरे पनि त्यसको प्रभाव अपेक्षित रूपमा उत्पादन वृद्धिमा देखिन सकेको छैन ।

अर्कोतर्फ बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिए पनि निजी क्षेत्रमा कर्जा विस्तार भने सुस्त बनेको छ । फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६.६४ प्रतिशतले बढेर ७७ खर्ब ४५ अर्ब पुगेको छ । तर निजी क्षेत्रमा प्रवाहित कर्जा केवल ४.४ प्रतिशतले बढेर ५७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । यसले उद्योग–व्यवसाय विस्तारमा निजी क्षेत्र अझै आत्मविश्वासी बन्न नसकेको संकेत गर्छ ।

बाह्य क्षेत्रका सूचकहरू भने अपेक्षाकृत बलिया देखिएका छन् । रेमिट्यान्स ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ भने विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ, जसले १८.५ महिनाको आयात धान्न सक्ने सरकारको दाबी छ । तर यही अवधिमा व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण पनि तीव्र रूपमा बढिरहेको देखिएको छ । सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल जीडीपीको ४३.६ प्रतिशत बराबर हो । चालु वर्षमै सरकारले ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको सर्वेक्षणमा उल्लेख छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

डिजिटल अर्थतन्त्रतर्फ भने केही सकारात्मक संकेत देखिएका छन् । फागुनसम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ । नेपालले सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्थिर आउटलुक प्राप्त गरेको तथ्यलाई सरकारले अन्तर्राष्ट्रिय विश्वसनीयताको संकेतका रूपमा प्रस्तुत गरेको छ । मुद्रास्फीति २.१३ प्रतिशतमा सीमित रहनु पनि सरकारका लागि सकारात्मक पक्ष बनेको छ ।

ऊर्जा क्षेत्रमा भने उल्लेखनीय सुधार देखिएको छ । फागुनसम्म देशको कुल विद्युत् जडित क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ । राष्ट्रिय प्रसारण लाइन ७ हजार २८० सर्किट किलोमिटर पुगेको र ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ ।

तर विकास निर्माणका महत्वाकांक्षी परियोजनाहरूको गति भने अत्यन्त सुस्त देखिएको छ । नयाँ सहर आयोजना सुरु भएको डेढ दशकमा जम्मा ३४ किलोमिटर कालोपत्र सडक निर्माण भएको तथ्यले सरकारी कार्यक्षमतामाथि प्रश्न उठाएको छ । सुरुमा १० सहरबाट थालिएको आयोजना अहिले ५४ सहरसम्म विस्तार भए पनि बजेट अभाव र कमजोर कार्यान्वयनका कारण अधिकांश आयोजना अलपत्रजस्तै बनेका छन् ।

समग्रमा आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रमा बाहिरी स्थिरता देखिए पनि भित्रभित्रै उत्पादन कमजोर, कृषि संकटग्रस्त, निजी क्षेत्र निरुत्साहित र विकास खर्च सुस्त रहेको मिश्रित तस्वीर प्रस्तुत गरेको छ । रेमिट्यान्स र उपभोगले धानेको अर्थतन्त्रलाई अब उत्पादन, निर्यात र औद्योगिकीकरणतर्फ मोड्न नसके दीर्घकालीन आर्थिक स्थायित्व चुनौतीपूर्ण बन्न सक्ने संकेत सर्वेक्षणले अप्रत्यक्ष रूपमा गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.