काठमाण्डौ । कहिलेकाहीँ खेलका नियमहरूले टोलीहरूलाई तर्कविपरीत देखिने व्यवहार गर्न प्रेरित गर्छन् ,यहाँसम्म कि जानाजानी हार्ने प्रयास गर्न पनि।
फुटबल इतिहासमा एउटा यस्तै घटना घटेको छ । यसलाई फुटबल इतिहासकै सबैभन्दा असाधारण खेलमध्ये एक मानिन्छ। तर यो खेल विश्वभरका दर्शकमाझ खेलिएको थिएन, न त कुनै विश्वचर्चित उपाधि वा प्रतिष्ठित ट्रफीका लागि नै थियो।
सन् १९९४ को क्यारेबियन कप छनोटअन्तर्गत बार्बाडोस र ग्रेनाडाबीच भएको फुटबल खेल खेल इतिहासकै सबैभन्दा अनौठा प्रतिस्पर्धामध्ये एक मानिन्छ। प्रतियोगिताको असामान्य नियमका कारण बार्बाडोसले जानाजानी आफ्नै पोस्टमा गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएको थियो।
खेलको ८३औँ मिनेटसम्म बार्बाडोस २–० ले अघि थियो। तर ग्रेनाडाले एक गोल फर्काएपछि स्कोर २–१ भयो। उक्त नतिजाले बार्बाडोसलाई अर्को चरणमा पुग्न पर्याप्त थिएन, किनकि उसलाई कम्तीमा दुई गोलको अन्तरले जित आवश्यक थियो।
प्रतियोगिताको नियमअनुसार निर्धारित समय बराबरीमा सकिए अतिरिक्त समय खेलाइने र अतिरिक्त समयमा हुने ‘गोल्डेन गोल’लाई दुई गोल बराबर मानिने व्यवस्था थियो। यही नियमलाई रणनीतिक रूपमा प्रयोग गर्दै बार्बाडोसका खेलाडीले आफ्नै पोस्टमा जानाजानी गोल गरे र खेल २–२ को बराबरीमा पुर्याए।
बार्बाडोसको योजना बुझिसकेपछि ग्रेनाडाका खेलाडीहरूले पनि आफ्नै पोस्टमा गोल गर्ने प्रयास गरे, जसले बार्बाडोसलाई आवश्यकभन्दा कम गोल अन्तरको जित दिलाउने थियो। त्यसपछि केही मिनेटसम्म ग्रेनाडाले दुवै पोस्टमा गोल गर्ने प्रयास गरिरहँदा बार्बाडोसले आफ्नै मात्र होइन, विपक्षीको पोस्टसमेत रक्षा गर्नुपर्ने अभूतपूर्व अवस्था सिर्जना भयो।
ग्रेनाडाका खेलाडीहरूले पनि आफ्नै पोस्टमा गोल गर्न खोजे, तर बार्बाडोसका खेलाडीहरूले त्यसलाई रोके। त्यसपछि उनीहरू बार्बाडोसको पोस्टतर्फ गोल गर्न दौडिए, तर त्यहाँ पनि बार्बाडोसले रक्षा गरिरहेको थियो।
यसरी ग्रेनाडाले दुवै पोस्टमा गोल गर्ने प्रयास गरिरह्यो, जबकि बार्बाडोसले दुवै पोस्टको रक्षा गरिरह्यो। निर्धारित समय सकिएपछि खेल अतिरिक्त समयमा पुग्यो। त्यहाँ भने खेल सामान्य लयमा फर्कियो र अन्ततः बार्बाडोसले ‘गोल्डेन गोल’ गर्दै खेल ४–२ ले जित्यो। उक्त जितसँगै उसले आवश्यक गोल अन्तर पूरा गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गर्यो।
यस घटनालाई खेलकुदमा ‘परभर्स इन्सेन्टिभ’अर्थात् नियमका कारण खेलाडी वा टोलीले अपेक्षित व्यवहारको विपरीत रणनीति अपनाउन बाध्य हुने उदाहरणका रूपमा आज पनि व्यापक रूपमा अध्ययन गरिन्छ। यही घटनापछि प्रतियोगितामा लागू गरिएको ‘डबल गोल्डेन गोल’ नियमको व्यापक आलोचना भएको थियो र पछि उक्त नियम हटाइएको थियो।
आखिर यस्तो किन भयो ?
प्रतियोगिताको छनोट चरणलाई अझ रोमाञ्चक बनाउन आयोजकहरूले एउटा विशेष नियम लागू गरेका थिए—खेल बराबरीमा समाप्त हुन पाउने थिएन।
यदि निर्धारित समयमा खेल बराबरी भयो भने अतिरिक्त समय खेलाइने थियो। त्यस अतिरिक्त समयमा भएको पहिलो ‘गोल्डेन गोल’ ले खेल तुरुन्त समाप्त गर्ने थियो, र त्यो गोललाई दुई गोल बराबर मानिने व्यवस्था थियो। आयोजकहरूले यो नियमले खासै फरक नपार्ने ठानेका थिए, तर वास्तवमा यही नियमले सम्पूर्ण खेलको दिशा बदलिदियो।
समूहको समीकरण
यसअघि पोर्टो रिकोले बार्बाडोसलाई १–० ले हराएको थियो, तर ग्रेनाडासँग २–० ले पराजित भएको थियो।
समूहबाट केवल शीर्ष टोली मात्र प्रतियोगिताको मुख्य चरणमा पुग्ने भएकाले पोर्टो रिको प्रभावकारी रूपमा प्रतिस्पर्धाबाट बाहिरिइसकेको थियो।
तर बार्बाडोससँग अझै सानो सम्भावना बाँकी थियो। यदि उसले ग्रेनाडालाई दुई वा सोभन्दा बढी गोलको अन्तरले हराउन सक्यो भने आवश्यक अंक र गोलअन्तरका आधारमा ग्रेनाडालाई उछिनेर समूह विजेता बन्न सक्थ्यो।
८३औँ मिनेटसम्म २–० को अग्रतामा रहेको बार्बाडोस आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको थियो। तर ग्रेनाडाले गोल फर्काएपछि स्कोर २–१ भयो र त्यो अन्तर पर्याप्त रहेन।
त्यस अवस्थामा बाँकी केही मिनेटमा अर्को गोल गर्ने प्रयास गर्नुको सट्टा बार्बाडोसले रणनीतिक निर्णय गर्यो—जानाजानी आत्मघाती गोल गरेर खेललाई २–२ बराबरीमा पुर्याउने। यसो गर्दा खेल अतिरिक्त समयमा पुग्ने थियो, जहाँ दुई गोल बराबर मानिने गोल्डेन गोल गर्दै आवश्यक गोलअन्तर हासिल गर्न सकिन्थ्यो।
त्यसैले बार्बाडोसले जानाजानी आफ्नै पोस्टमा गोल गर्यो।
जब ग्रेनाडाले विपक्षीको रणनीति बुझ्यो, उसले पनि आफ्नै पोस्टमा गोल गर्ने प्रयास गर्यो। यदि त्यसो गर्न सफल भएको भए बार्बाडोसले खेल त जित्थ्यो, तर आवश्यक गोलअन्तर नपुग्ने भएकाले समूहको शीर्ष स्थान हासिल गर्न सक्दैनथ्यो।
त्यसैले ग्रेनाडाले कहिले आफ्नै पोस्टमा त कहिले बार्बाडोसको पोस्टमा गोल गर्ने प्रयास गरिरह्यो, जबकि बार्बाडोसले दुवै पोस्टको रक्षा गर्न बाध्य भयो।
अन्ततः अतिरिक्त समयमा बार्बाडोसले गोल्डेन गोल गर्यो। प्रतियोगिताको नियमअनुसार त्यो दुई गोल बराबर गणना भएकाले अन्तिम नतिजा बार्बाडोस ४–२ ग्रेनाडा बन्यो।
यससँगै बार्बाडोसको गोलअन्तर ं१ पुग्यो, जबकि ग्रेनाडाको गोलअन्तर ० रह्यो। फलस्वरूप बार्बाडोस समूह विजेता बन्दै प्रतियोगिताको मुख्य चरणमा छनोट भयो।

