काठमाण्डौ । लघुबीमा कम्पनीहरुले २ अर्ब भन्दा बढी प्रिमियम कलेक्सन गरेका छन् । चालु आवको १० महिनासम्ममा लघु जीवन बीमा र लघुनिर्जीवन बीमा कम्पनीले २ अर्ब ६ करोड ५८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।
लघुबीमकहरुको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा २३.७५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लघुबीमकहरुले १ अर्ब ६६ करोड ९३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।
व्यवसाय ग्रोथ गर्नमा जीवन लघुबीमक भन्दा निर्जीवन लघुबीमकहरु आक्रामक देखिएका छन् । लघु जीवन बीमकहरुमा गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफको व्यवसाय गत आवको तुलनामा घटेको छ भने लिवर्टी माइक्रो इन्योरेन्सको सामान्य मात्रै बढेको छ ।
सो अवधिसम्म गार्डियन माइक्रो लाइफले ३४ करोड ६६ लाख, क्रेष्ट माइक्रो लाइफले ३४ करोड ९४ लाख र लिवर्टीले २६ करोड ९६ लाख रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेको छ । गार्डियनको व्यवसाय ७.२४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ३.५६ प्रतिशतले घटेको छ भने लिबर्टीको ९.३२ प्रतिशत बढेको छ ।
यता लघु निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा भने सुधार देखिएको छ । सो अवधिसम्म नेपाल माइक्रो इन्स्योरेन्सले २७ करोड ३५ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३१ करोड ११ लाख, स्टार माइक्रो इन्स्योरेन्सले २६ करापेड १९ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २५ करोड ३५ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।
सो अवधिसम्ममा नेपाल माइक्रोको व्यवसाय ४१.२५ प्रतिशत, प्रोटेक्टिभको ७७.१० प्रतिशत, स्टार माइक्रोको ६०.४२ प्रतिशत र ट्रस्टको ६४.५५ प्रतिशत व्यवसाय वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७ लघुबीमा कम्पनीमध्ये तीन कम्पनी मात्रै सूचीकृत छन् । गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स सेयरबजारमा सूचीकृत कम्पनी हुन् ।
सूचीकृत कम्पनीहरुको व्यवसाय दोस्रो बजारमा नआएका कम्पनीहरुको व्यवसायको तुलनामा खस्किएको छ । गार्डियन र क्रेष्ट माइक्रो लाइफको व्यवसाय गत आवको तुलनामा घटेको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको व्यवसाय अन्य सूचीकृत नभएका लघु निर्जीवन बीमा कम्पनीको तुलनामा थोरै मात्रै वृद्धि भएको छ ।


