Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 09:57:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘निजी क्षेत्रले यति धेरै सुविधा पाउँछु भनेर सोचेको थिएन’ : वाग्ले

वृद्धभत्ता यथावत, अब युवाको दिमागमा लगानी

Laxmi Sunrise Bank Limited
‘निजी क्षेत्रले यति धेरै सुविधा पाउँछु भनेर सोचेको थिएन’ : वाग्ले
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेटलाई निजी क्षेत्रमैत्री भएको दाबी गर्दै नेपालको आर्थिक रूपान्तरणको नेतृत्व अब सरकारले होइन, निजी क्षेत्रले गर्नुपर्ने बताएका छन्।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वाग्लेले रोजगारी सिर्जनादेखि आर्थिक वृद्धिसम्मका अधिकांश लक्ष्य निजी क्षेत्रको सक्रियता बिना सम्भव नहुने स्पष्ट पारे।

“१० वटा रोजगारीमध्ये ९ वटा रोजगारी निजी क्षेत्रबाट सिर्जना हुन्छन्,” उनले भने, “त्यसैले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु विकल्प होइन, आवश्यकता हो।”

‘निजी क्षेत्रले यति धेरै सुविधा पाउँछु भनेर सोचेको थिएन’

बजेट सार्वजनिक भएपछि निजी क्षेत्रबाट आएका सकारात्मक प्रतिक्रियातर्फ संकेत गर्दै वाग्लेले व्यवसायीहरू अहिले उत्साहित रहेको दाबी गरे।

“निजी क्षेत्र आज यति खुशी छ, यति उत्साहित छ कि उसले पनि कल्पना गरेको थिएन—यति धेरै छुट, सुविधा र सहज व्यवस्था कहाँबाट आयो भनेर,” उनले भने।

सरकारले कर, लगानी, उद्योग, स्टार्टअप, नवप्रवर्तन, पूर्वाधार र व्यवसायिक वातावरण सुधारसँग सम्बन्धित विभिन्न व्यवस्थामार्फत निजी क्षेत्रलाई सशक्त बनाउन खोजेको उनको भनाइ छ।

Bizshala
New Office
CG Motors

‘भत्ता पनि काटेनौं, युवामा पनि लगानी बढायौं’

सरकारले सामाजिक सुरक्षा कार्यक्रम कटौती गरेको आरोपको प्रतिवाद गर्दै अर्थमन्त्रीले वृद्धभत्ता लगायतका सबै प्रमुख सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

“गरिबीको दुहाई दिनेहरूले विगतमा ल्याएका कार्यक्रमहरू यथावत छन्, कतिपयमा हामीले थपेका पनि छौं,” उनले भने।

उनका अनुसार सरकारले वृद्धभत्ता कटौती गर्ने कुनै कदम चालेन, किनकि त्यो केवल आर्थिक सहयोगको विषय नभई ज्येष्ठ नागरिकको सम्मान र आत्मसम्मानसँग जोडिएको विषय हो।

“सिनियर सिटिजन्सप्रति हाम्रो सम्मान छ,” उनले भने, “तर युवाको मस्तिष्कमा पनि लगानी गर्नुपर्छ।”

यही सोचका आधारमा युवाकेन्द्रित कार्यक्रमका लागि मात्रै करिब ८ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए।

स्टार्टअपदेखि नवप्रवर्तनसम्म युवालाई प्राथमिकता

अर्थमन्त्रीका अनुसार कृषि मल, सिँचाइ, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा बजेटमार्फत विशेष कार्यक्रम ल्याइएको छ।

“युवाका लागि बग्रेल्ती कार्यक्रम ल्याइएका छन्,” उनले भने, “अब अवसर खोज्न विदेश जाने मात्र होइन, नेपालमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्छ।”

Garima Development Bank
Shivam Cement
Bizshala

‘सरकारले अर्थतन्त्र चलाउँदैन, निजी क्षेत्रले चलाउँछ’

वाग्लेले नेपालको करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रलाई १०० खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने दीर्घकालीन लक्ष्य सार्वजनिक गर्दै त्यसका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए।

उनका अनुसार २० खर्ब रुपैयाँको सरकारी बजेटले अर्थतन्त्रलाई केवल ‘सपोर्ट’ मात्र गर्न सक्छ, आर्थिक विस्तारको मुख्य शक्ति भने निजी लगानी, निजी उद्यम र निजी क्षेत्रको आत्मविश्वास नै हो।

“२० खर्बको बजेटले ७ प्रतिशत आर्थिक वृद्धिदरलाई केही इनपुट दिने हो,” उनले भने, “तर अर्थतन्त्रलाई उडाउने इन्जिन निजी क्षेत्र नै हो।”

बजेटको मूल दर्शन : राज्य सहायक, निजी क्षेत्र चालक

अर्थमन्त्रीको अभिव्यक्तिले वर्तमान सरकारको आर्थिक दर्शन स्पष्ट पारेको छ। सरकार आफूलाई प्रत्यक्ष आर्थिक चालक होइन, निजी क्षेत्रलाई गति दिने सहायक शक्तिका रूपमा प्रस्तुत गर्न खोजिरहेको देखिन्छ।

उनको सन्देश थियो-सरकारले बाटो बनाउने, नीति सहज बनाउने र वातावरण तयार गर्ने हो; रोजगारी सिर्जना गर्ने, लगानी बढाउने र अर्थतन्त्र विस्तार गर्ने मुख्य जिम्मेवारी निजी क्षेत्रकै हो।

यदि बजेटले निजी क्षेत्रको मनोबल साँच्चै उकास्न सफल भयो भने सरकारले कल्पना गरेको ७ प्रतिशत आर्थिक वृद्धिदर र १०० खर्ब रुपैयाँभन्दा ठूलो अर्थतन्त्रको सपना यथार्थतर्फ अघि बढ्न सक्छ। तर निजी लगानी अझै पनि पर्ख र हेरको अवस्थामा रह्यो भने बजेटका महत्वाकांक्षी लक्ष्यहरू चुनौतीपूर्ण बन्नेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.