बुधबार, श्रावण १३,२०८३ 12:11:09
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 12:11:09
Bizshala
Global IME Bank Limited

जेन–जी आन्दोलनलाई सम्मान गर्दै संसदमा कांग्रेसको मौनधारण, विपक्षीको पनि साथ, सभामुख असन्तुष्ट

जेन–जी आन्दोलनलाई सम्मान गर्दै संसदमा कांग्रेसको मौनधारण, विपक्षीको पनि साथ, सभामुख असन्तुष्ट
New Office

काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले विभिन्न लोकतान्त्रिक आन्दोलन, जनक्रान्ति तथा हालैको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा पाँच मिनेट मौनधारण गरेपछि संसद्मा राजनीतिक बहस थप चर्किएको छ।

कांग्रेसले उक्त मौनधारणलाई लोकतन्त्र, नागरिक सर्वोच्चता, सुशासन र राष्ट्रिय अखण्डताका लागि बलिदान दिएका शहीदहरूप्रतिको सम्मानका रूपमा प्रस्तुत गरेको छ। 

कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सदनमा सम्बोधन गर्दै नेपालको भौगोलिक अखण्डता कायम राख्न योगदान पुर्‍याएका वीर शहीद, प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका सहिद तथा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न मौनधारण गरिएको बताएका थिए।

राईको घोषणापछि कांग्रेसका सांसदहरू उभिएका थिए भने नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरूले पनि मौनधारणमा ऐक्यबद्धता जनाएका थिए।

यसलाई कतिपयले लोकतान्त्रिक शक्तिहरूबीचको साझा ऐक्यबद्धताको संकेतका रूपमा व्याख्या गरेका छन्।

तर, कांग्रेसको उक्त कदमले संसदीय प्रक्रियाबारे प्रश्नसमेत उठाएको छ।  

सभामुख डीपी अर्यालले संसद्को औपचारिक निर्णयबिना कुनै दलले आफैं समय निर्धारण गरेर सदनभित्र कार्यक्रम सञ्चालन गर्नु संसदीय अभ्यास र प्रक्रियाविपरीत भएको टिप्पणी गरेका छन्।

उनले संसद् सञ्चालनको अधिकार सभामुख र स्थापित संसदीय प्रक्रियाअन्तर्गत रहने भन्दै कांग्रेसको कदमले सदनको गरिमामाथि असर पर्न सक्ने बताएका छन्।

राजनीतिक वृत्तमा भने यस घटनालाई फरक–फरक कोणबाट हेरिएको छ।  

कांग्रेसले जेन–जी आन्दोलनलाई सुशासन र जवाफदेहिताको पक्षमा उठेको नागरिक आवाजका रूपमा प्रस्तुत गर्दै त्यसका क्रममा ज्यान गुमाएकाहरूलाई शहीदसरह सम्मान दिन खोजेको देखिन्छ।  

अर्कोतर्फ, सभामुखको आपत्तिले संसदीय मर्यादा र प्रक्रियाको सीमाभित्र रहेर राजनीतिक अभिव्यक्ति दिनुपर्ने प्रश्नलाई पुनः केन्द्रमा ल्याएको छ।

यस घटनाले संसद्भित्र लोकतान्त्रिक आन्दोलनको विरासत, नयाँ पुस्ताको राजनीतिक सहभागिता र संसदीय प्रक्रियाबीचको सम्बन्धबारे नयाँ बहस शुरु गराएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.