काठमाण्डौ । पाकिस्तानले मंगलबार राति र बुधबार बिहान डुरेन्ड रेखासँग जोडिएका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ।
तालिबान प्रशासनका अनुसार उक्त घटनामा ११ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
तालिबान सरकारका प्रवक्ता जबहिउल्लाह मुजाहिद ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै पाकिस्तानले अफगान हवाई सीमाको उल्लंघन गरी कुनार, खोस्त र पक्तिका मा पर्ने नागरिक बस्तीहरूलाई लक्षित गरी बमबारी गरेको बताएका छन्।
उनका अनुसार आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुषको ज्यान गएको छ।
साथै, घाइते हुनेमा १४ जना महिला र बालबालिका रहेका छन्।
तालिबान पक्षले घटनाको कडा विरोध गर्दै पाकिस्तानमाथि ‘मानवीय अपराध’ गरेको आरोप लगाएको छ।
तर, पाकिस्तान सरकारले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन।
पछिल्ला महिनाहरूमा अफगानिस्तानको तालिबान प्रशासन र पाकिस्तानबीच सीमा सुरक्षा तथा पारस्परिक सम्बन्धका विषयलाई लिएर तनाव निरन्तर बढ्दै गएको छ।

