काठमाण्डौ । भारतले पेट्रोल पम्पहरूमा इन्धनको बिक्री तथा वितरणलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका जारी गरेको छ।
पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले लागू गरेको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि पेट्रोल पम्पबाट एक ग्राहकले एक दिनमा २०० लिटरभन्दा बढी हाई स्पीड डिजेल खरिद गर्न पाउने छैन।
सरकारले थप कडाइ गर्दै औद्योगिक, व्यावसायिक तथा संस्थागत ठूला उपभोक्ताहरूलाई पेट्रोल पम्पबाट पेट्रोल र डिजेल खरिद गर्न पूर्ण रूपमा रोक लगाएको छ।
यस्ता उपभोक्ताले अब आफ्नो इन्धन आवश्यकता अनिवार्य रूपमा बल्क सेल प्वाइन्ट (थोक बिक्री केन्द्र) बाट मात्र खरिद गर्नुपर्नेछ। यो व्यवस्था तत्काल प्रभावबाट लागू गरिएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार यो नियम प्रारम्भिक चरणमा ९० दिनसम्म लागू रहनेछ।
मन्त्रालयले इन्धन बिक्रेता तथा तेल मार्केटिङ कम्पनीहरूलाई खुद्रा आउटलेटबाट हुने थोक खरिदमा समेत अस्थायी रोक लगाउन निर्देशन दिएको छ।
बजार असन्तुलन रोक्ने प्रयास
मध्यपूर्वमा जारी संकटका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि भारतमा इन्धन आपूर्तिमा दबाब सिर्जना भएको छ।
यस्तो अवस्थामा आम उपभोक्तालाई महँगीको असरबाट जोगाउन खुद्रा बजारमा मूल्य स्थिर राखिएको भएपनि औद्योगिक उपभोक्ताका लागि थोक मूल्य भने बढाइएको छ।
खुद्रा र थोक मूल्यबीच ठूलो अन्तर भएपछि ठूला व्यावसायिक उपभोक्ताहरूले लागत घटाउन पेट्रोल पम्पहरूबाटै इन्धन खरिद गर्न थालेका थिए।
यसले केही क्षेत्रमा डिजेलको असामान्य माग बढेपछि सरकारले नियन्त्रणात्मक कदम चाल्नुपरेको बताइएको छ।
ठूलो मूल्य अन्तर
दूरसञ्चार टावर, विद्युत उत्पादन र अन्य औद्योगिक प्रयोजनका लागि प्रयोग हुने डिजेल थोक बिक्री केन्द्रबाट महँगो दरमा बिक्री हुँदै आएको छ।
उदाहरणका लागि, दिल्लीमा खुद्रा डिजेलको मूल्य प्रतिलिटर ९५.२० रुपैयाँ रहेको छ भने थोक खरिदमा सोही डिजेलको मूल्य १३४.५० रुपैयाँ प्रतिलिटरसम्म पुगेको छ।
मूल्यको यही ठूलो अन्तरका कारण बजारमा असन्तुलन सिर्जना भएको र सर्वसाधारणलाई इन्धन अभाव हुन नदिन सरकारले पेट्रोल पम्पबाट हुने थोक बिक्रीमा कडाइ गरेको बताइएको छ।

