काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले इन्धन मूल्य घटाउन सरकारसँग आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले इन्धनको मूल्यवृद्धिले सर्वसाधारण तथा किसानहरूलाई प्रत्यक्ष असर पारेको भन्दै सरकारको आलोचना गरे। अन्तर्राष्ट्रिय बजारको अवस्था र छिमेकी भारतको उदाहरण दिँदै उनले युद्धकालीन परिस्थितिमा समेत भारतमा इन्धनको मूल्य स्थिर रहेको तर नेपालमा अस्वाभाविक रूपमा मूल्य बढाइएको दाबी गरे ।
खेतीपातीको मुख्य समयमा इन्धन महँगो हुँदा कृषि उत्पादन लागत बढेको र किसानहरू थप समस्यामा परेको उल्लेख गर्दै उहाँले सरकारले तत्काल इन्धनको मूल्य समायोजन गरी राहत उपलब्ध गराउनुपर्ने माग गरे ।
राष्ट्रभन्दा माथि कोही हुन नसक्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति समेत जनाए । उनले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको केही अंश तत्काल संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।
विशेष समय लिएर धारणा राख्दै सांसद भाटले संसद् सञ्चालनका लागि प्रतिपक्ष सधैं लचिलो र जिम्मेवार रहेको दाबी गर्दै सत्तापक्षले प्रतिपक्षका जायज माग र आवाजलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।

