काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कमिटीमा ठूलो राजनीतिक हलचल देखिएको छ।
जिल्ला अध्यक्ष नवराज सिम्खडासहित १०७ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्दै सामूहिक रूपमा राजीनामा दिएका छन्।
राजीनामा घोषणा गर्दै जिल्ला अध्यक्ष सिम्खडाले पार्टी आफ्नो घोषित नीति, सिद्धान्त र वैचारिक मार्गबाट विचलित भएको आरोप लगाएका छन्।
पार्टी नेतृत्वको व्यवहार र संगठनात्मक गतिविधिमा असंगति देखिएकाले आफूहरू पार्टीमा रहन नसक्ने निष्कर्षमा पुगेको उनको भनाइ छ।
जारी वक्तव्यमा सिम्खडाले राप्रपाले लामो समयदेखि उठाउँदै आएको विचार, मूल्य र उद्देश्यलाई व्यवहारमा उतार्न नसकेको उल्लेख गरेका छन्।
उनले पार्टीभित्र भनाइ र गराइबीचको अन्तर बढ्दै गएको तथा कार्यकर्ताको भावना सम्बोधन हुन नसकेको बताएका छन्।
यसअघि सिम्खडाको अध्यक्षतामा बसेको काठमाडौं जिल्ला कमिटीको बैठकले पार्टीबाट अलग हुने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार जिल्ला तहका नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन्।
राजीनामा दिनेहरूको सूचीमा राप्रपा काठमाडौं महानगर समितिका अध्यक्ष केदारबहादुर धमला पनि रहेका छन्।
पार्टी छाड्ने समूहले अब स्वतन्त्र राजनीतिक गतिविधि अघि बढाउने र आगामी दिनमा डा। धवलशम्शेर राणाको नेतृत्वमा गठन हुन लागेको नयाँ राजनीतिक शक्तिसँग सहकार्य गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
पार्टीबाट अलग हुने नेताहरूले राप्रपा त्यागे पनि आफूहरू मूल वैचारिक मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध रहने बताएका छन्।
उनीहरूले राजनीतिक यात्राको नयाँ अध्याय शुरु गर्ने संकेत समेत दिएका छन्।
यसैबीच, पार्टी परित्याग गर्ने अन्य नेता तथा कार्यकर्ताको विस्तृत नामावली क्रमशः सार्वजनिक गरिने जानकारी दिइएको छ।
सामूहिक राजीनामासँगै देशभरका राप्रपाका जिल्ला अध्यक्ष, नेता तथा कार्यकर्ताप्रति सम्मान र सद्भाव व्यक्त गरिएको वक्तव्यमा उल्लेख छ।
राजधानीको सबैभन्दा महत्वपूर्ण संगठनमध्ये एक मानिने राप्रपा काठमाडौंमा देखिएको यो सामूहिक बहिर्गमनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
आगामी दिनमा यस घटनाले राप्रपाको संगठनात्मक अवस्था र नयाँ राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई विशेष महत्वका साथ विश्लेषण गर्न थालिएको छ।

