काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। भरिभराउ मियामी स्टेडियममा भएको खेलमा भिनिसियस जुनियरले दुई गोल गरे भने माथेउस कुञ्हाले एक गोल थपे। साथै, स्टार खेलाडी नेयमारले करिब तीन वर्षपछि ब्राजिलको जर्सीमा पुनरागमन गरेका छन्।
कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा रहेको ब्राजिल सात अंकसहित समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो। समूहको अर्को खेलमा मोरोक्कोले हैटीलाई ४–२ ले हराउँदै दोस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनायो।
खेलको सातौं मिनेटमै स्कटल्यान्डका डिफेन्डर स्कट म्याकेन्नाको गल्तीको फाइदा उठाउँदै भिनिसियसले ब्राजिललाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा ब्रुनो गुइमाराइसको क्रसमा हेडमार्फत दोस्रो गोल गर्दै उनले टोलीको पकड अझ बलियो बनाए।
दोस्रो हाफमा पनि ब्राजिलले आक्रामक खेल जारी राख्यो। ६०औं मिनेटमा गुइमाराइसकै अर्को उत्कृष्ट पासमा माथेउस कुञ्हाले गोल गर्दै स्कोर ३–० पुर्याए।
खेलको अन्त्यतिर मैदान प्रवेश गरेका नेयमारका लागि दर्शकहरूले विशेष स्वागत गरे। अक्टोबर २०२३ पछि पहिलोपटक राष्ट्रिय टोलीबाट खेलेका उनले ब्राजिल समर्थकमाझ उत्साह थपेका थिए।
स्कटल्यान्डले खेलभर प्रभावशाली अवसर सिर्जना गर्न सकेन। ब्राजिलका गोलरक्षक एलिसनले केही महत्वपूर्ण बचाउ गर्दै टोलीलाई क्लिन सिट दिलाए। जितसँगै ब्राजिल उपाधि दाबेदार टोलीका रूपमा थप मजबुत देखिएको छ भने भिनिसियस प्रतियोगिताका उत्कृष्ट गोलकर्तामध्ये एकका रूपमा उभिएका छन्।

