काठमाण्डौ । नेपालकै पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले मोरङको लेटाङमा निर्माण गरेको ३३÷११ केभी क्षमताको नेपालकै पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा ल्याएको हो ।
उक्त सबस्टेशनको गत असार ५ गते सफल परीक्षण, सञ्चालन परीक्षण तथा चार्जिङ सम्पन्न गरिएको थियो । यो सबस्टेशन देशकै पहिलो अटो रिकलोजर तथा स्काडा नियन्त्रण प्रणालीमा आधारित मानवविहीन सबस्टेशन हो ।
यो सबस्टेशन प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरअन्तर्गत करिब १० करोड रुपैयाँमा निर्माण गरिएको हो । यसले लेटाङ नगरपालिका तथा बेलबारी नगरपालिका क्षेत्रका हजारौँ विद्युत् उपभोक्ता लाभान्वित हुने अपेक्षा गरिएको छ ।
यस परियोजनामा प्रयोग गरिएको स्काडा प्रणालीमार्फत सबस्टेशनलाई निगरानी र नियन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ ।

