काठमाण्डौ । निजामती कर्मचारीका लागि सिंहदरबारभित्रै स्वास्थ्य सेवा इकाइ सञ्चालनमा आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा ल्याइएको हो ।
कर्मचारीलाई सहज, छिटो र कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त इकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सामान्य स्वास्थ्य जाँचका लागि कर्मचारीहरूले अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न सिंहदरबारभित्रै सेवा विस्तार गरिएको हो ।
निजामती कर्मचारी अस्पतालमा सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्न पनि मन्त्रालयमै स्वास्थ्य सेवा इकाइ स्थापना गरिएको बताइएको छ । यस इकाइबाट निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रक्त परीक्षणलगायतका सेवा उपलब्ध गराइनेछ ।
सेवा शुभारम्भका क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आफ्नो रक्तचाप परीक्षणसमेत गराएकी थिइन् ।

