काठमाण्डौ । अर्थमन्त्रालय र सम्बन्धित निकायहरुले आफ्नो १०० दिनको कार्यप्रगति विवरण सार्वजनिक गर्दै उपलब्धि प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्रालयले आफ्नो प्रगति विवरण सार्वजनिक गरिरहेको बेला सेयर लगानीकर्ताहरुले वर्तमान सरकार आएपछि मात्रै पूँजीबजारबाट साढे ४ खर्ब रुपैयाँ गुमाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि मात्रै सेयर लगानीकर्ताहरुले ४ खर्ब ५० अर्ब २८ करोड रुपैयाँ गुमाएका छन् ।
रास्वपा सरकार गठन हुनुभन्दा अघिल्लो दिन (चैत १२) गते नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।
असार १९ गतेसम्म आइपुग्दा धितोपत्र बजार पूँजीकरण ४५ खर्ब ५९ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । यसर्थमा रास्वपाको सरकार बनेपछि मात्रै सेयरबजारबाट लगानीकर्ताले साढे ४ खर्ब सम्पत्ति गुमाएका छन् ।
दुई तिहाई बहुमतको सरकारले सय दिने कार्यकालमा विभिन्न उपलब्धी प्राप्त गरेको घोषणा गरिरहँदा सेयरबजार भने ११.१८ प्रतिशतले घटेको छ ।
नयाँ सरकार बन्नुअघि २९५० को विन्दुमा रहेको नेप्से परिसूचक सयदिनपछि २६५३ को विन्दुमा कायम भएको छ । सरकारले पूँजीबजार सुधारका लागि विभिन्न नीतिगत सुधार ल्याउने घोषणा गरेपनि बजारले भने गति लिन सकिरहेको छैन ।
नेप्सेमा क्रमशः आएको गिरावट करेक्सन नभई हालको बजार डाउन ट्रेन्ड अर्थात् वियरिस ट्रेन्ड रहेको सेयर विज्ञहरुले बताएका छन् । नयाँ सरकारले गरेको धरपकडका कारण मुख्यगरी सेयर लगानीकर्ताहरको मनोबल खस्किँदा बजारले लय लिन नसकेको विश्लेषकहरु बताउँछन् ।
सरकारी उपलब्धि घोषणा : लगानीकर्ताको मनोबलमा दबाब
आजै सार्वजनिक भएको अर्थमन्त्रालयकोे १०० दिने उपलब्धि तथा प्रगति विवरणमा इतिहासकै ठूलो वित्तीय अपराध (बीमा र धितोपत्र क्षेत्रको ११० अर्ब बढीको घोटाला) विरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा सफल अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरिएको र थप अनुसन्धान तीव्र बनाइएको विषयलाई समेटिएको छ ।
रास्वपाको सरकार बनेपछि वित्तीय अपराधमा संलग्न केही ठूला घरानाका व्यवसायी र लगानीकर्ता अनुसन्धानको लागि पक्राउ परे । त्यसदिनयता सेयरबजार लगातार डाउन ट्रेन्डमा छ । बजारमा भोल्युम घटेर ३/४ अर्बमा सीमित छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि सरकारले ठूला व्यवसायी र उद्योगीहरुलाई पक्राउ गरेपछि सेयर लगानीकर्ताहरुको मनोबल खस्किएको विज्ञहरु बताउँछन् ।
पूँजीबजारमा ‘ह्वाईट मनि’ नै भित्रिएपनि ठूला व्यवसायीलाई धमाधम पक्राउ गरी कारोबार रोक्का गरिदिंदा सिंगो पूँजीबजारलाई यसले असर पारेको एक जानकारले बताए ।
‘नेपालको सेयरबजार चल्न ठूला लगानीकर्ताहरु भित्रिन आवश्यक छ, स–साना लगानीकर्ता र ट्रेडरले मात्रै बजार चल्न सक्दैन’ ती जानकारले भने, ‘सरकारले जसरी ठूला व्यवसायी र लगानीकर्तालाई पक्राउ गरेर उनीहरुको कारोबार रोक्का गरिदिएको छ, यसले बजारलाई धेरै प्रभाव पारेको छ, अन्य लगानीकर्ताहरुको मनोबलमा यो विषयले प्रत्यक्ष असर पारेको छ ।
साथै अहिलेको सरकारले बजेटमार्फत बढाएको पूँजीगत लाभकरको विषयले पनि बजारलाई थप घट्न प्रोत्साहन मिलेको उनको भनाई छ ।
‘नीतिमा मात्रै फेरबदल गरेर पूँजीबजार सुधार हँुदैन, सरकारले सेयर लगानीकर्तालाई विश्वास दिलाउन नसक्नु नै मुख्य कमजोरी हो, जसकारण अहिलेको सरकारलाई लगानीकर्ताले आँखा चिम्लेर विश्वास गर्न सकेका छैनन’ उनले भने, ‘जबसम्म लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण सिर्जना हुँदैन, तबसम्म बजार सस्टेन हुन सम्भावना रहँदैन ।’

