काठमाण्डौ । मोदी खोलामा आएको बाढीले सडक बगाएपछि पर्यटकीय गाउँ घान्द्रुक पुगेका करिब ३०० पर्यटक अलपत्र परेका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमा क्षेत्रमा पर्ने स्याउलीबजार नजिकै मोदी खोलाले पक्की सडक बगाएको हो। सडक क्षतिग्रस्त भएपछि नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिएपछि आएको बाढीका कारण मोदी खोलाको बहाव अत्यधिक बढेको थियो। बाढीले सडक बगाएसँगै घान्द्रुकसँगको सवारी सम्पर्क टुटेको छ।
पैदल यात्रामा ठूलो समस्या नभए पनि निजी तथा सार्वजनिक सवारीसाधन लिएर घान्द्रुक पुगेका पर्यटक गाउँमै रोकिएका छन्।
घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङका अनुसार तीन दिनको बिदा मनाउन घान्द्रुक पुगेका करिब ३०० पर्यटक बाटो खुल्ने प्रतीक्षामा छन्।
उनले अधिकांश पर्यटक आफ्नै सवारीसाधनमा आएको उल्लेख गर्दै साना सवारीका लागि वैकल्पिक मार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिए।
मोटरसाइकल र स्कुटरमा पुगेका पर्यटकलाई घान्द्रुक–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी निकाल्ने कच्ची सडक मर्मतको काम भइरहेको गाउँपालिकाले जनाएको छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर पदयात्रामा गएका पर्यटकलाई सहज रूपमा बाहिर निकाल्न स्थानीय प्रशासन र प्राविधिक टोली परिचालन गरिएको बताए।
नदीको बहाव केही घटेकाले सडक बगाएको स्थानबाट एकतर्फी रूपमा यातायात सञ्चालन गर्न सकिने सम्भावनाबारे प्रशासनसँग छलफल भइरहेको उनको भनाइ छ।
घान्द्रुक अन्नपूर्ण आधार शिविर र घोरेपानी–पुनहिल पदयात्राका लागि प्रमुख प्रवेशद्वार मानिन्छ।

