काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना र निर्यात विस्तारका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा उद्योगी व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी उत्पादनको बजार विस्तार र उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन सरकार सक्रिय रहने बताएका हुन्।
उनले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा जुत्ताचप्पल उत्पादनसम्बन्धी सिपमूलक तालिम सञ्चालन गरिने बताए। नेपाली जुत्ताचप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने उनको भनाइ थियो।
उद्योगको वास्तविक उत्पादन क्षमताका आधारमा कच्चापदार्थ आयातको सीमा निर्धारण, आयातित सामग्रीको ट्र्याकिङ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा पनि सरकारले आवश्यक पहल गर्ने प्रधानमन्त्री शाहले बताए।
छलफलमा उद्योगी व्यवसायीहरूले भारतसँगका विभिन्न नाकाबाट भइरहेको जुत्ताचप्पलको अवैध चोरी पैठारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले कर तथा मूल्य अभिवृद्धि करको दायराबाहिर रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत राखेका छन्।
त्यस्तै, गुणस्तरहीन र अत्यन्त सस्तो जुत्ताचप्पलको आयात नियन्त्रण गर्न तथा आयातित जुत्ताचप्पलमा अनिवार्य गुणस्तर परीक्षणको व्यवस्था लागू गर्न व्यवसायीहरूले आग्रह गरेका छन्।
उद्योगीहरूले आवश्यक नीतिगत संरक्षण, बजार सुरक्षा र उद्योगमैत्री वातावरण निर्माण भए स्वदेशी जुत्ताचप्पल उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने बताएका छन्। यसबाट आयात घट्नुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना र स्वदेशी उत्पादनको निर्यात विस्तार गर्न सकिने उनीहरूको भनाइ थियो।
छलफलमा संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा संघकी सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायत सहभागी थिए।

