काठमाण्डौ । युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा युवा सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न तयार गरिएको विधेयकमाथि सरोकारवालासँग छलफल भएको छ।
छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाललगायत युवा क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
युवा सम्बन्धी विद्यमान कानुनलाई समयानुकूल संशोधन र एकीकरण गरी नयाँ कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले छलफल सुरु गरिएको मन्त्रालयले जनाएको छ।
सहभागीहरूले युवाले सामाजिक, आर्थिक, राजनीतिक तथा उद्यमशीलताका क्षेत्रमा पुर्याएको योगदानको उचित मूल्याङ्कन हुनुपर्ने धारणा राखेका थिए। उनीहरूले राज्यका संरचना र नीति निर्माण प्रक्रियामा युवाको सम्मानजनक तथा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने व्यवस्था विधेयकमा समेट्न सुझाव दिएका छन्।
त्यस्तै, युवाको विकास, नेतृत्व र रोजगारीका क्षेत्रमा अन्य मुलुकले अवलम्बन गरेका सफल अभ्यासलाई अध्ययन गरी नेपालका लागि उपयुक्त व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने सुझावसमेत छलफलमा आएको थियो।
सहभागीका सुझावलाई सम्बोधन गर्दै मन्त्री यादवले विश्वभर युवाका क्षेत्रमा भइरहेका सकारात्मक अभ्यासलाई मध्यनजर गर्दै विधेयकलाई व्यावहारिक र प्रभावकारी बनाइने बताए। उनले नेपालले विगतमा युवा विकासका क्षेत्रमा गरेका सकारात्मक काम र प्राप्त उपलब्धिलाई समेत नयाँ कानुनमा समेटिने उल्लेख गरे।
छलफलमा मन्त्रालयका सचिव दीपक काफ्ले, पूर्वसचिव रामप्रसाद थपलिया, सहसचिवहरू बाबुराम भण्डारी र मनिता श्रेष्ठ, वैदेशिक रोजगार बोर्डका सहसचिव चन्द्रबहादुर शिवाकोटी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे तथा नेपाल कानुन आयोगका उपसचिव जलेश्वर रामलगायतको उपस्थिति थियो।

