काठमाण्डौ । संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठक राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा आयोजना हुने भएको हो।
समितिका अनुसार बैठकमा प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिहरूसम्बन्धी प्राप्त उजुरीमाथि छलफल गरिनेछ। साथै, प्रस्तावित उम्मेदवारहरूले पेस गरेका कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने कार्यसूची पनि रहेको छ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो। त्यस्तै, निर्वाचन आयुक्त पदका लागि डा.राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गर्ने निर्णय परिषद्ले गरेको थियो।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट प्रस्तावित उम्मेदवारहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई सम्बन्धित पदमा नियुक्त गर्ने प्रावधान रहेको छ।

