काठमाण्डौ । काठमाण्डौ उपत्यकाका अधिकांश क्षेत्रमा आर्थिक वर्ष २०८३/८४ का लागि जग्गाको न्यूनतम मूल्यांकन बढाइएको छ। भूमि प्रशासन कार्यालयहरूले रजिस्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका लागि नयाँ मूल्य निर्धारण गरेसँगै उपत्यकाका प्रमुख व्यापारिक तथा आवासीय क्षेत्रको सरकारी जग्गा मूल्य बढेको हो।
जग्गाको न्यूनतम मूल्यांकन बढेपछि अब खरिदबिक्री गर्दा देखाइने सरकारी मूल्य, रजिस्ट्रेसन शुल्क तथा सम्बन्धित करको आधार रकमसमेत प्रभावित हुने भएको छ।
भूमि प्रशासन कार्यालय डिल्लीबजार, चाबहिल, कलंकी, टोखा र मनमैजुले नयाँ आर्थिक वर्षका लागि मूल्यांकन संशोधन गरेका छन्। भक्तपुरले भने अघिल्लो वर्षकै मूल्यलाई निरन्तरता दिएको छ भने ललितपुरका कार्यालयहरूले नयाँ मूल्यांकन सार्वजनिक गरिसकेका छैनन्।
चाबहिल क्षेत्रअन्तर्गत पर्ने जग्गाको न्यूनतम मूल्यांकन सबैभन्दा धेरै बढाइएको छ। चक्रपथसँग जोडिएका गौशालादेखि धोबीखोलासम्मका जग्गाको सरकारी मूल्य प्रतिआना ५ लाख ७० हजार रुपैयाँसम्म वृद्धि गरिएको छ।
गत आर्थिक वर्षमा प्रतिआना ५७ लाख रुपैयाँ रहेको उक्त क्षेत्रको न्यूनतम मूल्यांकन चालू आर्थिक वर्षमा बढेर ६२ लाख ७० हजार रुपैयाँ पुगेको छ।
त्यस्तै मित्रपार्क, कालोपुल, गौशाला चोक, रातोपुल, चाबहिल चोकदेखि पासाङ ल्हामु चोक हुँदै जोरपाटी क्षेत्रतर्फ जाने मुख्य सडकसँग जोडिएका जग्गाको मूल्यांकन पनि बढाइएको छ। यी क्षेत्रमा प्रतिआना ५० लाख ६० हजार रुपैयाँ रहेको सरकारी मूल्य बढाएर ५५ लाख ६६ हजार रुपैयाँ पुर्याइएको छ।
बौद्ध स्तूपा आसपासका जग्गाको न्यूनतम मूल्यांकन पनि बढेर प्रतिआना ४८ लाख ९५ हजार रुपैयाँ पुगेको छ। डिल्लीबजार भूमि प्रशासन कार्यालयअन्तर्गत पर्ने काठमाडौंको मुख्य व्यापारिक क्षेत्रमा पनि जग्गाको न्यूनतम मूल्य बढाइएको छ।
न्यूरोड, दरबारमार्ग, कान्तिपथ, जमल, इन्द्रचोक, रत्नपार्क, सुन्धारा, सिंहदरबार पश्चिम गेट, माइतीघर, पुतलीसडक, हात्तिसारलगायतका मुख्य सडकसँग जोडिएका जग्गाको सरकारी मूल्यांकन प्रतिआना ७६ लाख २० हजार रुपैयाँ पुगेको छ। गत वर्ष यी क्षेत्रको मूल्यांकन ७२ लाख ६० हजार रुपैयाँ थियो।
पुतलीसडक–बागबजार–रत्नपार्क तथा सभागृह आसपासका क्षेत्रको न्यूनतम मूल्यांकन पनि बढाएर ५६ लाख रुपैयाँसम्म पुर्याइएको छ।
कलंकी क्षेत्रका जग्गाको न्यूनतम मूल्यांकन पनि बढेको छ। रिङरोडसँग जोडिएका बल्खुदेखि वनस्थलीसम्मका जग्गाको सरकारी मूल्य प्रतिआना ४९ लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको छ।
गत वर्ष उक्त क्षेत्रको मूल्यांकन ४७ लाख रुपैयाँ थियो।
त्यस्तै कालिमाटी, बल्खु, सोल्टीमोड, कलंकी चोकलगायतका मुख्य सडकसँग जोडिएका जग्गाको मूल्यांकन प्रतिआना ४३ लाख रुपैयाँ तोकिएको छ।
टोखा क्षेत्रमा नारायणस्थान जाने पिच सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिवर्गमिटर ७० हजार रुपैयाँ पुगेको छ। यसअनुसार प्रतिआना मूल्य करिब २२ लाख २५ हजार रुपैयाँ पुग्छ। गत वर्ष यी जग्गाको मूल्यांकन प्रतिआना करिब २१ लाख १७ हजार रुपैयाँ थियो।
मनमैजु क्षेत्रमा पनि विभिन्न सडक किनारका जग्गाको सरकारी मूल्यांकन प्रतिआना २० लाख रुपैयाँबाट बढाएर २२ लाख रुपैयाँ पुर्याइएको छ।
भूमि प्रशासन कार्यालयहरूले जग्गाको न्यूनतम मूल्यांकन गर्दा सडकसँगको पहुँच, सडकको प्रकार, जग्गाको उपयोग अवस्था, क्षेत्रगत बजार मूल्य र पछिल्लो कारोबारलाई आधार बनाउने गरेका छन्।

