काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो। संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले मुख्यमन्त्री कँडेलप्रति विश्वास नरहेको भन्दै यसअघि लिएको अडान यथावत् राखिएको बताए।
‘हामीले यसअघि नै मुख्यमन्त्रीमाथि विश्वास छैन भनेर पत्र दर्ता गराइसकेका छौँ,’ जिसीले भने, ‘त्यसैले अहिले पुनः फरक निर्णय गर्ने अवस्था छैन।’
केन्द्रमा नेकपा एमाले र नेकपाबीच नयाँ राजनीतिक समीकरण बनेको चर्चा भइरहे पनि कर्णाली प्रदेशमा नेकपाले आफ्नो पूर्ववत् निर्णय परिवर्तन नगर्ने स्पष्ट पारेको छ।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस र नेकपाले संयुक्त रूपमा गत बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ।

