मंगलवार, श्रावण १२,२०८३ 03:00:46
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 03:00:46
Bizshala
Global IME Bank Limited

कप्तानगन्ज घटनापछि मोरङमा पनि डिजे बजाउन रोक

मेला, विवाह, धार्मिक कार्यक्रमदेखि पार्टीसम्म डिजे प्रयोग निषेध, उल्लंघन गरे कारबाही हुने

कप्तानगन्ज घटनापछि मोरङमा पनि डिजे बजाउन रोक
New Office

 

काठमाण्डौ । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा चर्को आवाजमा डिजे बजाएको विषयबाट सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि मोरङमा पनि डिजेको प्रयोगमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार सूचना जारी गर्दै अर्को आदेश नभएसम्म जिल्लाभर कुनै पनि सार्वजनिक तथा निजी कार्यक्रममा डिजे प्रयोग नगर्न निर्देशन दिएको हो।

प्रशासनले मेला, महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कुनै पनि कार्यक्रममा डिजे बजाउन निषेध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा प्रशासनको निर्देशनविपरीत डिजे प्रयोग गर्ने वा गराउने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

“कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरिएको छ,” प्रशासनको सूचनामा उल्लेख छ।

चर्को आवाजको विवादले लिएको थियो हिंसात्मक रूप

सुनसरीको कप्तानगन्ज बजारमा चर्को आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको थियो। विवाद बढ्दै गएपछि दुई समुदायबीच झडप भएको थियो।

स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि घटना थप तनावग्रस्त बनेको छ। घटनाको विरोधमा सुनसरीसहित विभिन्न जिल्लामा प्रदर्शनसमेत भएका छन्।

कप्तानगन्ज तथा आसपासका क्षेत्रमा दुई दिनदेखि कर्फ्यु जारी छ।

सुनसरी घटनापछि सार्वजनिक कार्यक्रममा चर्को ध्वनि प्रयोग गर्दा सामुदायिक तनाव तथा सुरक्षा चुनौती सिर्जना हुन सक्ने भन्दै मोरङ प्रशासनले पूर्वसावधानीस्वरूप डिजेमाथि पूर्ण रोक लगाएको हो।

प्रशासनको पछिल्लो निर्णयसँगै मोरङमा आगामी दिनमा आयोजना हुने विवाह, उत्सव तथा धार्मिक कार्यक्रममा डिजे प्रयोग गर्न नपाइने भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.