काठमाण्डौ। लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण सवारी आवागमन अवरुद्ध भएको हो।
प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ। बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा समेत रोक लगाइएको छ।
कोशी प्रदेशअन्तर्गत इलामको मेची राजमार्ग (राजदुवाली खण्ड) पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको राँके–रवि–भेडेटार सडक खण्ड पनि बन्द रहेको छ। यस्तै, भोजपुर र खोटाङमा पर्ने मध्यपहाडी लोकमार्गका केही खण्डमा पहिरोका कारण एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही प्रमुख राजमार्गमा निश्चित समयका लागि सवारी सञ्चालन रोकिएको छ। काभ्रे खण्डस्थित विपी राजमार्गमा बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, मकवानपुरस्थित कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो–कोदारी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ भने रसुवाको पासाङ ल्हामु राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर तथा गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन्। कर्णाली प्रदेशको जाजरकोटमा पर्ने भेरी करिडोर (जाजरकोट–डोल्पा सडक) समेत पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सडक खुलाउने तथा पहिरो पन्छाउने कार्य जारी रहे पनि निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण काममा कठिनाइ भइरहेको छ।
नेपाल प्रहरीले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा राजमार्ग नियन्त्रण कक्षबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

