काठमाण्डौ। पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कार्यालयको राजस्व संकलनमा करिब ११ प्रतिशत वृद्धि भएको हो।
मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व संकलन भएको थियो। त्यसको तुलनामा पछिल्लो आर्थिक वर्षमा रु एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी राजस्व उठेको छ।
राजस्व संकलनमा वृद्धि भए पनि कार्यालयले तोकिएको वार्षिक लक्ष्य भने पूरा गर्न सकेन। आर्थिक वर्ष २०८२÷८३ का लागि रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले करिब ९३ प्रतिशत मात्र प्रगति हासिल गरेको जनाएको छ।
काँकरभिट्टा नाका पूर्वी नेपालको आयात–निर्यात व्यापारका लागि महत्वपूर्ण प्रवेशद्वार मानिन्छ। यस नाकाबाट चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पीलगायत कृषिजन्य वस्तु निर्यात हुने गरेका छन् भने पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुने गरेको छ।

