काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य कारबाही तत्कालका लागि रोकिएको घोषणा गरेका छन्। उनले आइतबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत इरानसँग सम्झौताको प्रारम्भिक रूपरेखा तयार भएको दाबी गर्दै आक्रमण रोक्ने निर्णय गरिएको बताएका हुन्।
ट्रम्पका अनुसार अमेरिकासँग दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य शक्ति रहेको भए पनि इरान र मध्यपूर्वका केही अन्य देशको आग्रहपछि तत्कालका लागि सैन्य कारबाही स्थगित गरिएको हो।
उनले प्रस्तावित सम्झौतामा स्ट्रेट अफ हर्मुज तत्काल, पूर्ण रूपमा र निर्बाध रूपमा खोल्नुपर्ने तथा इरानको परमाणु जोखिम अन्त्य गर्ने विषय समेटिएको बताएका छन्।
ट्रम्पले विश्वको भविष्य, इरानको स्थिरता र समृद्धिलाई ध्यानमा राख्दै आक्रमण रद्द गर्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले यस निर्णयमा इजरायल पनि सहमत रहेको दाबी गर्दै सबै पक्षलाई सम्झौता चाँडो टुंग्याउन आग्रह गरेका छन्।
यद्यपि, उक्त सम्झौताको विस्तृत विवरण र त्यसमा संलग्न पक्षहरूको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

