काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई संघीय कोषको २ अर्ब डलर भन्दा बढी फण्डिङमा रोक लगाउने भएको छ । विश्वकै प्रतिष्ठित कलेजको रुपमा रहेको हार्वर्ड विश्वविद्यालयले ह्वाइट हाउसको मागहरूको सूची अस्वीकार गरेसँगै ट्रम्प प्रशासनले फण्डिङ रोक्ने निर्णय गरेको हो ।
शिक्षा विभागले एक विज्ञप्ति जारी गर्दै हार्वर्डको बयानले अमेरिकाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र कलेजहरूमा व्याप्त समस्याग्रस्त अधिनायकवादी मानसिकतालाई प्रतिबिम्बित गरेको जनाएको छ ।
यसअघि ह्वाइट हाउसले हार्वर्ड विश्वविद्यालयलाई मागहरूको सूची पठाएको थियो। यी मागहरू विश्वविद्यालयमा यहुदी विरोधी भावनाविरुद्ध लड्न तयार गरिएको बताइएको छ । यी मागमा विश्वविद्यालयको प्रशासन, भर्ना र नियुक्ति प्रक्रियामा फेरबदल हुनुपर्ने थियो ।
हार्वर्डले सोमबार यी मागहरूलाई कडाइका साथ अस्वीकार गरेको छ। युनिभर्सिटीले ह्वाइट हाउसले आफ्नो समुदायलाई नियन्त्रण गर्न खोजिरहेको आरोप लगाएको छ ।