काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । वैशाख २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७९÷८० र आव २०८०÷८१ को साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी जेठ २२ गते काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै आव २०७९/८० र २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गारी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/८० र २०८०/८१ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको रिक्त रहेको सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।