काठमाण्डौ । पूँजीबजार सम्बद्ध केही ब्रोकरहरुले माग राख्दै आएको मल्टिपल डीपीको विषयमा धितोपत्र बोर्ड सकारात्मक देखिएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले यो विषय बोर्डमा अघि बढेको बताएका हुन् ।
स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले यस विषयमा धितोपत्र बोर्डमा आफूहरुले पहल गरिरहेको बताए । उनले यसमा कुनै शंका गर्नुपर्ने कारण नरहेको र ब्रोकरहरुले डीपी शुल्कको लोभले मल्टिपल डीपीको माग नगरेको पनि उनले दाबी गरे ।
खासगरि, लगानीकर्ताहरुले करोेडौको सेयर किनेर अर्को ब्रोकरमार्फत सेयर बेच्न थाले पछि ब्रोकरहरुले मल्टिपल डीपीको माग राख्दै आएका छन् । अध्यक्ष ढकालका अनुुसार हाल ब्रोकरहरुले विश्वासको आधारमा लगानीकर्ताहरुलाई करोडौसम्म कोल्याट्रल दिएका छन् । उनले उदाहरण दिँदै भने, ‘यदि कसैले २५ लाख रुपैयाँ ब्रोकरलाई दिएमा ब्रोकरले विश्वासको आधारमा एक करोडसम्म कोल्याट्रल दिनसक्छ । तर बाहिरको डीपी भएको खण्डमा किनेको सेयर दोस्रो ब्रोकर वा डीपीमा जाने गर्छ । पहिलो ब्रोकरमा पैसा नतिरी लगानीकर्ताले दोस्रो ब्रोकरबाट सेयर बेचेर लगानीकर्ता सम्पर्कविहिन हुने प्रवृत्ति बढेपछि हामीले मल्टिपल डीपीको माग राखेका हौं ।’
तर एक पुराना ब्रोकरले भने मल्टिपल डीपीमा केही शसंकित पनि देखिए । हाल एक ग्राहकले २ वटा मात्रै डीपी खोल्न पाउने ब्यबस्था रहेको छ । अर्को ब्रोकर अथवा डीपीमा जानु परेमा पूरानो डीपी बन्द गर्नु पर्ने हुन्छ । जुन त्यति सहज नरहेको लगानीकर्ता बताउँदै आएका छन् । यसै बीच मल्टिपल डीपी आएको खण्डमा लगानीकर्ताले जति सुकै डीपी पनि खोल्न सक्नेछन् ।
तर केही पुराना ब्रोकरहरुले भने नयाँ ब्रोकरहरुले आफ्ना ग्राहक तानिन सक्ने चिन्ता पनि व्यक्त गरेका छन् । केही लगानीकर्ताहरुले हाल डीपी ‘फि’ हटाउन माग गरेको बेला मल्टिपल डीपी बनाउनु भनेको ब्रोकरहरले डीपी फिमा लोभ गरेको पनि आरोप लगाए । लगानीकर्ताहरुले हरेक कम्पनीको कारोबारमा २५ रुपैयाँ डीपी फि र बार्षिक रुपमा नबिकरण फि पनि तिर्दै आएका हुन्छन् ।