काठमाण्डौ । पछिल्लो समय पूँजीबजारमा फेरि बाफियाको विषयले चर्चा पाउन थालेको छ । बजेटपछि सकारात्मक माहोल बन्ने अपेक्षा राखेका सेयर लगानीकर्ताहरु बजेट भाषणपश्चात घटेपछि अलमलमा परेका छन् । केहीले बाफियाको विषयका बारेमा गभर्नर विश्व पौडेलले दिएको अभिव्यक्तिका कारण बजार घटेको आरोप लगाएका छन् ।
के हो बाफिया ?
बाफिया भनेको बैंक तथा फाइनान्सियल इन्स्टीच्युसनल एक्ट(बाफिया) २०७३ हो । खासगरि जनआन्दोलन २०६२÷६३ पछि बिभिन्न पुराना कानूनहरुलाई समयानुकुल संसोधन गरि बाफिया ऐन २०६३ ल्याइएको थियो । जसमा १४ परिच्छेद र १३४ वटा दफाहरु रहेका छन् । पछि २०७३ मा संसोधन गरिएको उक्त ऐनलाई सरकारले २०८० चैतमा प्रतिनिधि सभामा दर्ता गरेको छ । जुन अर्थसमितिमा दफावार छलफल भएता पनि हालसम्म पारित भएको छैन ।
के छ बाफिया ऐनमा ?
बिधेयकमा उल्लेखित तीन महले अनुसार मौजुदा ऐनमा मुख्य गरि ३० वटा संसोधन रहेका छन् । जसमा मुख्यगरि बैंकर र व्यवसायी छुट्टाउने , बैंकको लगानी क्षेत्र , मापदण्ड तय गर्ने , बैंक तथा वित्तीय क्षेत्रको सेयर खरिद बिक्री तथा स्वामित्वको नयाँ व्यबस्था गर्ने , बैंक सञ्चालको योग्यता र क्षमता तोक्ने तथा डिजिटल मूद्रालाई स्वीकार गर्ने जस्ता व्यबस्था बाफिया ऐनमा राखिएको छ ।
किन तर्सिए सेयर लगानीकर्ताहरु ?
पूँजीबजारमैत्री भनेर चिनिएका गर्भनर विश्वनाथ पौडेलले केही अघि बाफियाको विषयमा अभिव्यक्ति दिएका थिए । उनले बाफियाको विषयमा बोल्नुका साथै एकै व्यक्ति तथा संस्थाहरुलाइ करिब ५ खर्ब कर्जा प्रवाह भएको बताएका थिए । उनको यो अभिव्यक्तिको बारेमा पछिल्लो २ कारोबारमा बजारमा चर्चा चल्यो । जसको कारण सेयर बजामा बिक्री दबाब देखियो ।
के भन्छन् जानकार ?
नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशब श्रेष्ठ भन्छन ‘लगानीकर्ताहरुले बाफिया भनेको बैंकर र व्यबसायी छुट्टाउने विषय भएको मात्रै बुझेका छन् । यसले सप्लाई आउला कि भनेर लगानीकर्ताहरु डराएका हुन् । सेयर बजारमा भविष्यमा घट्न सक्ने घटनाले अहिले नै प्रतिक्रिया दिन्छ । बाफिया भनेको अल्पकालको लागि नराम्रो भए ता पनि दीर्घकालको लागि राम्रो नै बिषय हो ।’ गभर्नर नै बोलेपछि लगानीकर्ताहरु तरंगित भएको हुन सक्ने उनले बताए । ‘ बाफिया आएता पनि सँस्थागत लगानीकर्ताहरुलाई समय दिएर आउँछ’ अध्यक्ष श्रेष्ठले भने । यसैगरि एक ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता बिनोद अर्यालले ‘बाफियाको हल्ला फैलाएर सेयर माफियाले बजार घटाईरहेको आरोप लगाए ।’