काठमाण्डौ । धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुबाट उठाएको ४२ करोड ५६ लाख बढी रुपैयाँ ५ बर्षदेखि फसेको फस्यै छ ।
धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको समयमा उक्त रकम आफ्नै भवन निर्माण प्रयोजनका लागि जग्गा खरिद गर्न काठमाण्डौ उपत्यका विकास प्राधिकरणलाई दिइएको थियो ।
काठमाण्डौको कागेश्वरी मनोहरामा ७ रोपनी जग्गा खरिदका लागि उक्त रकम दिइएको थियो । तर ५ बर्ष बितिसक्दा पनि धितोपत्र बोर्डले हालसम्म पनि न पैसा नै फिर्ता पाएको छ न त जग्गा नै । त्यो समयमा धितोपत्र बोर्डले काठमाण्डौ बिकास प्राधिकरणलाई ४२ करोड ५६ लाख रुपैयाँ दिएको थियो ।
तत्कालिन अबस्थामा सात रोपनी भनेर सभ्झौता गरिएता पनि बाटो तथा अन्य सबै काट्दा उक्त जग्गा जम्मा ४ रोपनी मात्र भएको बोर्डस्थित स्रोतले जानकारी दियो । पूरा जग्गा नभएपछि बोर्ड नै पछि हटेको छ ।
धितोपत्र बोर्डले यस बर्षको बार्षिकोत्सवमा पनि बोर्डले जग्गा खरिद गरेर आफ्नै भवन निमार्ण गर्ने बताएको छ । तर पहिलेदेखि फसेको पैसा र जग्गा के गर्ने भन्ने बिषयमा बोर्ड अनिर्णित देखिन्छ ।
हालसम्म उक्त रकम साँवाब्याजसहित गरेर ५० करोडभन्दा माथि पुगिसकेको छ । धितोपत्र बोर्डले काठमाण्डौ विकास प्राधिकरणमार्फत मनोहरा क्षेत्र विकास प्राधिकरणको स्वामित्वमा रहेको ७ रोपनी जग्गा खरिदको लागि पैसा दिएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । जग्गा खरिदको लागि दिएको उक्त रकम हालसम्म न बोर्डले फिर्ता पाएको छ न त जग्गा नै ।
मनोहरा विकास प्राधिरणले मनोहरामा विकासको काम सम्पन्न नभएको भन्दै जग्गा उपलब्ध गराएको छैन । ‘बोर्डले पैसा दियो तर जग्गाको लालपूर्जा बोर्डको नाममा आएको छैन । न जग्गा आयो न त पैसा नै आयो।’ श्रेष्ठले भने ।
यसै विषयमा बुझ्न खोज्दा काठमाण्डौ विकास प्राधिकरणका कुनै पनि अधिकारीहरु सम्पर्कमा आउन चाहेनन् । मनोहरा विकास प्राविधरणका प्रवक्ता सागर मिश्रले आफूलाई यस विषयमा कुनै पनि जानकारी नभएको बताए ।
हाल धितोपत्र बोर्डले काठमाण्डौको खुमलटारमा बार्षिक एक करोडभन्दा बढी भाडाको भवन लिएर कार्यालय सञ्चालन गरिरहेको छ ।
बोर्डस्थित अर्को एक उच्च स्रोतका अनुसार आफ्नै भवन निर्माणका लागि मनोहराको सो जग्गाको लफडा छाडेर माइतीघर मण्डला छेउकै जग्गा फेला पारी त्यसलाई खरीद गर्ने प्रक्रिया अगाडि बढेको छ । निकट भविष्यमा सोही ठाउँमा धितोपत्र बोर्डको अत्याधुनिक भवन निर्माण हुने उच्च स्रोतको भनाई छ ।