काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने ४ दिन कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ६४०.९६ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५५.३८ विन्दुमा बन्द भयो ।
यस हिसाबले यो साता सेयर बजार १४.४२ अंकले बढ्यो । अघिल्लो साता बजार ५२.१ अंकले घटेको थिया । यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा ५० अर्ब ४१ करोडको सेयर कारोबार भयो । यो भनेको पछिल्लो १४ हप्ता पछिकै उच्च कारोबार हो ।
अघिल्लो साता ४ दिनको कारोबारमा २९ अर्ब ४ करोडबराबरको सेयर कारोबार भएको थियो । यो साता बजार पूँजीकरण ४४ खर्ब २३ अर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकरण ४३ खर्ब ९९ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पत्ति पनि २४ अर्बले बढ्यो ।
प्राविधिक पक्षः
क्याण्डल स्टिकको आधारमा
साप्ताहिक रुपमा नै क्याण्डल स्टिकको आधारमा यो साता नेप्सेमा आघिल्लो रातो क्याण्डल पछि इन्भर्टेड् ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताको लागि भने आगामी साता बजारले यो साताको उच्च विन्दु २६९० भन्दा माथि बन्द हुनु पर्नेछ ।

बोलिङ्गर म्याक्डी र आरएसआई
साप्ताहिक रुपमा बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजार साइडवेजमा चलेको देखिन्छ । साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार लामो समयदेखि मध्य ब्याण्ड अर्थात २६९० विन्दु भन्दा माथि जान सकेको छैन । अपर ब्याण्ड र लोवर ब्याण्ड निकै साँघुरिएको छ । यसले बजार साइडवेजमा चलेको देखिन्छ । साप्ताहिक रुपमा म्याक्डीमा पनि हिस्टोग्राम नेगेटिभ नै रहेका छन् । आरएसआई न्यूट्रल जोनमा चलेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा हालको बजार साइडवेजमा चलेको देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – २९४१
प्रतिरोध २ – २८५६
प्रतिरोध १– २७७४
पिभट् प्वइन्टः २६८९
घटेमा सपोर्ट
सपोर्ट १– २६०८
सपोर्ट २– २५२३
सपोर्ट ३ –२४४१

निष्कर्षः यो साता नेप्से १४.४२ अंकले बढ्यो । अघिल्लो साता भने बजार ५२.१ अंकले घटेको थियो । प्राविधिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा यो साता इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रपमा बजारमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ । पिभट् मार्फत नियाल्दा यो साता बजार पिभट् प्वइन्ट २६८९ विन्दु भन्दा तल बन्द भएको छ ।
विभिन्न इन्डिकेटरहरुबाट नियाल्दा पनि बजार साइडवेजमा चलेको देखिन्छ । कारोबार तथा भोल्युमबाट हेर्दा यो साता बजारमा १४ हप्ता पछिकै उच्च कारोबार भएको छ । यसले बजारमा स्मार्ट मनी पसेको देखिन्छ । पछिल्लो समय बजारमा लगानीकर्ताहरुले क्षेत्रगत रुपमा र स्क्रिप्टमा बढी ध्यान दिएको देखिन्छ । यो साता बजार साइडवेज रहेता पनि जलविद्युत र लगानी उपसमूहमा बढी आकर्षण देखियो । प्राविधिक रुपमा बजारले अप ट्रेन्डनै लियो भन्ने निश्चित हुनलाई आगामी साता नेप्से पिभट् प्वइन्ट २६९० विन्दु भन्दा माथि लाग्नु पर्नेछ ।
क्षेत्रगत रुपमा यो साताको बजारलाई नियाल्दा जलविद्युत, वित्त, लगानी , अन्य , होटल्स र म्युचुअल फण्डमा हरियाली छायो भने बाँकी सबै समूहमा रातो पोतियो ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।