काठमाण्डौ । म्युचुअल फण्डहरुको खुद मुनाफा झण्डै दोब्बरले बढेको छ । सञ्चालनमा रहेका ४५ म्युचुअल फण्डले असार मसान्तसम्म ७ अर्ब १० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यो नाफा जेठ मसान्तसम्मको तुलनामा ९७.१० प्रतिशत बढी हो । जेठ महिनासम्ममा म्युचुअल फण्डहरुले ३ अर्ब ६० करोड ३६ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सो अवधिसम्म सबै फण्डको नाफा उल्लेख्य बढेको छ । जेठमा घाटा ब्यहोरेका फण्डहरुले समेत असार मसान्तसम्म आइपुग्दा नाफा कमाउन सफल भएका छन् । असार महिनामा एनआइबीएल समृद्धि फण्ड–२ योजना मात्रै घाटामा रहेको छ, तर यो फण्डको नोक्सानी जेठ महिनाको तुलनामा कम भएको छ ।
सेयरबजारमा सुधार देखिएसँगै म्युचुअल फण्डहरुको नाफामा समेत सुधार देखिएको छ । जेठ मसान्तसम्म २६५५ को विन्दुमा रहेको नेप्से परिसूचक असार मसान्तसम्म पुग्दा २७५९ विन्दुमा पुगेको छ । यसर्थमा एक महिनाको अन्तरालमा सेयरबजार ३.९१ प्रतिशतले बढेको छ ।
सेयरबजारमा म्युचुअल फण्डहरुको ठूलो लगानी रहेको हुन्छ । बजारमा आउने उचारचढावले फण्डहरुको वित्तीय अवस्था नै फेरबदल हुने अवस्था आउन सक्छ । सेयरबजारमा अर्बौ लगानी हुने भएकाले बजार घट्दा फण्डहरुको नाफा घट्ने वा घाटा ब्यहोर्ने र बजार बढ्दा नाफामा सुधार देखिने हुन्छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८२÷८३ को मौद्रिक नीतिमा सेयरबजारका लागि सकारात्मक नीति आएकाले बजारले सुधारको संकेत देखाएको हो । केही समय लगातार घटेको पूँजीबजारले अब लय समातेको बजार जानकारहरुको भनाई छ ।
बजार घट्दा ठूलो नोक्सानी ब्यहोर्दै आइरहेको फण्डहरुले समेत बजार सुधारको अवस्थामा नाफा कमाएका छन् । साथै नाफा घटेका फण्डहरुले उल्लेख्य नाफा वृद्धि गरेका छन् ।
असार मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउने म्युचुअल फण्डमा एनएमबी सरल बचत फण्ड ई रहेको छ । उक्त फण्डले ३७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो महिनाको तुलनामा ३२२.७३ प्रतिशत धेरै हो ।
त्यस्तै, प्रभु सेलेक्ट फण्डले ३६ करोड ९१ लाख, एनआइबीएल सहभागिता फण्डले ३४ करोड १३ लाख, सिद्धार्थ इक्विटी फण्डले ३० करोड ५४ लाख, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले २९ करोड ३३ लाख, प्रभु स्मार्ट फण्डले २८ करोड ६१ लाख, हिमालयन ८०–२० ले २७ करोड ५४ लाख र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले २६ करोड २२ लाख रुपैयाँ नाफा कमाएका छन् ।
३५ वटा फण्डको न्याभ ११ रुपैयाँमाथि
म्युचुल फण्डहरुको नाफा बढेसँगै यता प्रतिइकाई खुद सम्पत्ति मूल्य ९न्याभ० पनि वृद्धि भएको छ । सञ्चालनमा रहेका ४५ वटा म्युचुअल फण्डको न्याभ ११ रुपैयाँमाथि छ भने १० को न्याभ १० रुपैयाँमाथि छ ।
यसअघि फण्डहरुको नाफा घट्दा यसको प्रत्यक्ष प्रभाव न्याभमा देखिएको थियो । अधिकांश फण्डहरुको न्याभ १० रुपैयाँ आसपास र केहीको सो भन्दा तल थियो तर असारमा सेयरबजारमा केही प्रतिशत सुधार देखिदा फण्डहरुको नाफामा पनि सुधार देखिएको छ । र न्याभमा पनि वृद्धि देखिएको छ ।
फण्डहरुको न्याभ घटबढ हुनु भनेको उक्त फण्डहरुको मूल्य दैनिक आधारमा परिवर्तन हुनु हो, जुन मुख्य रुपमा फण्डहरुले लगानी गरेको सम्पत्तिहरुको मूल्यमा हुने उतारचढावमा भर पर्छ । फण्डहरुले सेयरबजारमा लगानी गर्ने भएकाले आफुले लगानी गरेको स्टकको मूल्य घट्दा न्याभ घट्ने र बढ्दा बढ्ने हुन्छ ।
असार मसान्तसम्म सबैभन्दा धेरै न्याभ प्रभु क्यापिटलका दुईवटा म्युचुअल फण्डको रहेको छ । प्रभु स्मार्ट फण्डको १३.५३ रुपैयाँ र प्रभु सेलेक्ट फण्डको १३.४६ रुपैयाँ रहेको छ ।
सेयरबजारमा रु. ४८.७२ अर्ब लगानी
म्युचुअल फण्डहरुको सेयरबजारमा ४८ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको छ । धितोपत्र बोर्डको नियमअनुसार म्युचुअल फण्डहरुले सेयरबजार, ऋणपत्र, बण्ड, मुद्दती निक्षेप, ट्रेजरी बिल जस्ता क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ ।
तर फण्डहरुको ८० देखि ९० प्रतिशत रकम सेयरबजारमा लगानी रहेको हुन्छ । असार मसान्तसम्म सेयरबजारमा मात्रै गरिएको लगानी पौने ४९ अर्ब पुगेको छ । यो लगानी जेठ महिनाको तुलनामा ६.३७ प्रतिशत बढी हो । जेठमा फण्डहरुको यस्तो लगानी ४५ अर्ब ८० करोड ७२ लाख रुपैयाँ थियो ।
सो अवधिसम्म ९ वटा म्युचुअल फण्डको मात्रै यस्तो लगानी भ्यालु घटेको छ । बाँकी ३६ वटा फण्डको सेयरबजारमा गरिएको लगानी भ्यालु बढेको छ ।
असार मसान्तसम्म सबैभन्दा बढी एनआइबीएल सहभागिता फण्डको सेयरबजारमा ४ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ लगानी रहेको छ । फण्डको यस्तो लगानी ५.२९ प्रतिशतले बढेको छ ।
जेठ महिनाको तुलनामा सबैभन्दा बढी लगानी बढाउने फण्डमा भने रिलायबल समृद्धि योजना रहेको छ । फण्डले ३०९.३७ प्रतिशतले लगानी बढाएको छ ।




                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                