खर्च बढ्दा नेशनल इन्स्योरेन्स रु.६२.३९ करोड घाटामा, रु.५६ करोड प्रिमियम संकलन काठमाण्डौ । नेशनल इन्स्योरेन्सले गत आवमा ६२ करोड ३९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । अघिल्लो आवमा २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले गत आवमा दोब्बर घाटा ब्यहोरेको हो । गत आवमा कम्पनीको व्यवसाय समेत ९.४५ प्रतिशतले घटेको छ ।
अघिल्लो आवमा ६१ करोड ९१ लाख रुपैया प्रिमियम संकलन गरेको यो कम्पनीले गत आवमा जम्मा ५६ करोड ६ लाख रुपैयाँ मात्रै प्रिमिमय संकलन गरेको छ । गत आवमा कम्पनीको खर्च र दाबी भुक्तानी बढेको कारण कम्पनी घाटामा देखिएको हो । कम्पनीको कुल खर्च २०७.७४ प्रतिशत बढेर १ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, दाबी भुक्तानी रकम १३.३१ प्रतिशत बढेर ६२ करोड ९८ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्म कम्पनीको लगानीबाट हुने आम्दानी समेत ३०.०३ प्रतिशतले घटेर १२ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको बीमा कोषको आकार भने ६९.८५ प्रतिशत बढेर २ अर्ब ७० करोड कोषमा सञ्चित छ । यता महाविपत्ती कोषमा ३ करोड २१ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको सो अवधिसम्म बीमालेख संख्या २२ हजार २२० रहेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो संख्या २६ हजार ७६० रहेको थियो ।