काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ लाख ३८ हजार मात्रै खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.८३ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २६ करोड ५१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
नाफा घटेपनि कम्पनीको खुद बीमाशुल्क आर्जन भने बढेको छ । अघिल्लो आवमा ९२ करोड ९१ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवमा भने १ अर्ब ४ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।
यो अवधिमा कम्पनीको कुल खर्च बढेको छ । अघिल्लो आवमा १ अर्ब १४ करोड रहेको कम्पनीको कुल खर्च बढेर १ अर्ब ५७ करोड पुगेको छ । दाबी भुक्तानी समेत ६१ करोड ३० लाखबाट बढेर १ अर्ब ४ करोड पुगेको छ ।
कम्पनीको महाविपत्ती कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ ५९ लाख ८४ हजार रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानीमा व्यापक गिरावट आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ११.६७ रुपैयाँ रहेको कम्पनीको ईपीएस घटेर ०.०२ रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८२.७२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८३.२३ रुपैयाँ कायम भएको छ ।

