काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा नियामकीय अनुशासन कडा बनाउने क्रममा दुई कम्पनीमाथि कारबाही गरेको छ। प्राधिकरणले नियमविपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई २ लाख रुपैयाँ तथा लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालिलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो।
प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सम्पत्ति बीमा निर्देशन २०८० को दफा २५(२) विपरीत बीमाशुल्कमा अनधिकृत छुट तथा सहुलियत दिएको पाइएपछि बीमा ऐन २०७९ अन्तर्गत कारबाही गरिएको हो।
उक्त व्यवस्थाले प्रत्यक्ष बीमाको विशेष अवस्थाबाहेक बीमाशुल्कमा कुनै प्रकारको छुट, कटौती वा सहुलियत दिन रोक लगाएको छ।
त्यसैगरी, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङले पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ को दफा १५ उपदफा (१)र (२) को व्यवस्था पालना नगरेको पाइएको प्राधिकरणले जनाएको छ।
पुनर्बीमा दलाल सम्बन्धी निर्देशिकाअनुसार इजाजतप्राप्त संस्थाले प्राधिकरणको पूर्वस्वीकृतिबिना स्वामित्व हस्तान्तरण गर्न पाउँदैन भने स्वामित्व परिवर्तन गर्नुअघि कारणसहित निवेदन दिनुपर्ने व्यवस्था छ।

