काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको समृद्धि फाइनान्स खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १३ करोड ६१ लाख रुपैयाँ घाटामा थियो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ८५ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.१८८ प्रतिशतले बढी हो । कम्पनीले यो अवधिसम्म १ करोड ५२ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने यस्तो रकम ७१ लाख ७ हजार मात्रै थियो ।
अघिल्लो आवको चौथो त्रैमाससम्म ४ करोड २ लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको खुद सञ्चालन आम्दानी १४ करोड ९ लाख रुपैयाँले धनात्मक बनेको छ ।
कम्पनीको इम्पेयरमेन्ट चार्ज २ करोड ३९ लाख रुपैयाँले रिभर्सल भएको छ । यो अवधिमा कम्पनीको खराब कर्जा अनुपात ह्वात्तै घटेको छ । अघिल्लो आवमा २०.२३ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ९.६६ प्रतिशतमा सीमित बनेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ६२ करोड ५१ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको आकार २९ करोड ५१ लाख रुपैयाँ रहेको छ ।
यो अवधिमा कम्पनीको निक्षेप संकलन २ अर्ब ७८ करोड र कर्जा प्रवाह १ अर्ब ८३ करोड रुपैयाँबराबर रहेको छ ।
यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ६२ करोड ५१ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)३.९० रुपैयाँ , प्रतिसेयर नेटवर्थ ६२.११ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२८.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३८.३३ गुणा र तरलता अनुपात ३८.३७ प्रतिशत कायम भएको छ ।