बिहीबार, श्रावण १४,२०८३ 04:15:55
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 04:15:55
Bizshala
Global IME Bank Limited

नियमभन्दा माथि प्रभू बैंक ! संस्थापकका किशोरजंग सर्वसाधारणबाट अध्यक्ष

बिर्खबहादुरपछि अध्यक्ष कार्कीमा पनि उही खेल, एउटै व्यक्तिलाई फरक समूहबाट निरन्तर हालीमुहाली गराउँदा पनि राष्ट्र बैंक मौन

नियमभन्दा माथि प्रभू बैंक ! संस्थापकका किशोरजंग सर्वसाधारणबाट अध्यक्ष
New Office

काठमाण्डौ । प्रभू बैंकमा सञ्चालक चयनसम्बन्धी नियामकीय व्यवस्थालाई चुनौती दिने अर्को गम्भीर प्रकरण फेला परेको छ। यसअघि बिर्खबहादुर बस्नेतले संस्थापक र सर्वसाधारण दुवै समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेको तथ्य बाहिरिएकोमा अहिले बैंकका अध्यक्ष किशोरजंग कार्कीसमेत फरक-फरक समयमा दुई समूहबाट सञ्चालक बनेको प्रमाण भेटिएको हो।

बैंककै आधिकारिक विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा कार्की संस्थापक समूहबाट सञ्चालक थिए। तर पछिल्लो सञ्चालक समितिमा उनी सर्वसाधारण समूहबाट निर्वाचित मात्र भएका छैनन्, सञ्चालक समितिको अध्यक्षकै जिम्मेवारीमा पुगेका छन्।

एउटै बैंकमा एउटै व्यक्ति पहिले संस्थापक समूहको प्रतिनिधि र त्यसपछि सर्वसाधारण समूहको प्रतिनिधि बनेको यो घटनाले प्रभू बैंकको संस्थागत सुशासन, सञ्चालक चयन प्रक्रिया र नेपाल राष्ट्र बैंकको नियामकीय भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

बैंककै कागजात बोल्छन्

प्रभू बैंकको आर्थिक वर्ष २०८०/८१ को विवरणमा तत्कालीन अध्यक्ष लिला प्रकाश सिटौलाको नेतृत्वमा रहेको सञ्चालक समितिमा किशोरजंग कार्कीलाई स्पष्ट रूपमा ‘संस्थापक समूह’को सञ्चालक उल्लेख गरिएको छ।

सो विवरणमा ओंगिरमान सिंह, तारामानन्धर र किशोरजंग कार्की संस्थापक समूहबाट सञ्चालक रहेको देखिन्छ। अभिषेक बज्राचार्य र बिर्खबहादुर बस्नेतलाई भने सर्वसाधारण समूहको प्रतिनिधिका रूपमा उल्लेख गरिएको छ।

तर बैंकको पछिल्लो विवरणमा कार्कीको समूह नै फेरिएको छ। त्यसमा किशोरजंग कार्कीलाई ‘सर्वसाधारण समूह’बाट निर्वाचित अध्यक्ष भनिएको छ। नयाँ सञ्चालक समितिमा ओंगिरमान सिंह, बिर्खबहादुर बस्नेत र अम्बिका शर्मा लामिछाने संस्थापक समूहबाट तथा कार्की र राजु पौडेल सर्वसाधारण समूहबाट प्रतिनिधित्व गरिरहेको देखाइएको छ।

अर्थात्, अघिल्लो विवरणमा संस्थापक समूहका सञ्चालक रहेका कार्की पछिल्लो कार्यकालमा सर्वसाधारण समूहबाट सञ्चालक बनेर अध्यक्षसम्म पुगेका छन्।

यो सामान्य पद परिवर्तन मात्र होइन। बैंक सञ्चालक समितिमा संस्थापक र सर्वसाधारण समूहको प्रतिनिधित्व फरक स्वामित्व वर्ग, फरक निर्वाचन आधार र फरक उत्तरदायित्वसँग जोडिएको हुन्छ। त्यसैले एउटै व्यक्तिले समूह परिवर्तन गर्दै निरन्तर सञ्चालक समितिमा बस्नुले प्रतिनिधित्वको मूल मर्ममाथि नै प्रश्न उठाउँछ।

बिर्खबहादुरपछि अध्यक्ष कार्कीमा पनि उही प्रवृत्ति

प्रभू बैंकमा यस्तो विवाद किशोरजंग कार्कीको हकमा मात्र देखिएको होइन। यसअघि बिर्खबहादुर बस्नेत सर्वसाधारण समूहबाट सञ्चालक रहेका थिए। पछिल्लो सञ्चालक समितिमा उनी संस्थापक समूहको प्रतिनिधिका रूपमा कायम छन्।

अब अध्यक्ष कार्कीसमेत पहिले संस्थापक र पछि सर्वसाधारण समूहबाट सञ्चालक बनेको प्रमाण भेटिएपछि यो विषय कुनै एक व्यक्तिको सामान्य प्रक्रियागत त्रुटिमा सीमित देखिँदैन। बरु प्रभू बैंकमा निश्चित व्यक्तिलाई समूह परिवर्तन गराउँदै सञ्चालक समितिमा निरन्तरता दिने योजनाबद्ध अभ्यास त भइरहेको छैन भन्ने प्रश्न उठेको छ।

अझ गम्भीर पक्ष त के छ भने फरक समूहबाट दोहोरिएर प्रतिनिधित्व गर्ने व्यक्ति अहिले बैंकको सञ्चालक समितिको अध्यक्ष छन्। बैंकको रणनीतिक नीति, प्रमुख व्यवस्थापकीय निर्णय, जोखिम व्यवस्थापन र संस्थागत सुशासनको नेतृत्व गर्ने अध्यक्षकै प्रतिनिधित्वमाथि प्रश्न उठेपछि यसको प्रभाव सम्पूर्ण सञ्चालक समितिको वैधानिकता र विश्वसनीयतासम्म पुग्छ।

संस्थापक र सर्वसाधारण समूह केवल नामका लागि हुन् ?

बैंक तथा वित्तीय संस्थामा संस्थापक र सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व छुट्टाछुट्टै राख्नुको निश्चित उद्देश्य छ। सञ्चालक समितिमा कुनै एउटै समूह वा व्यक्तिको एकाधिकार नहोस्, फरक वर्गका सेयरधनीको हित प्रतिनिधित्व होस् र शक्ति सन्तुलन कायम रहोस् भनेर यस्तो व्यवस्था गरिएको हो।

तर एउटै व्यक्ति कहिले संस्थापक र कहिले सर्वसाधारण समूहबाट सञ्चालक बन्न पाउने हो भने समूहगत प्रतिनिधित्वको औचित्य नै समाप्त हुन्छ। व्यक्ति उही रहने तर नामपछाडिको समूह मात्र परिवर्तन हुने अभ्यासले सञ्चालक समितिमा शक्ति सन्तुलन होइन, सीमित व्यक्तिको निरन्तर पकड कायम गर्न सहयोग गर्छ।

यसले केही आधारभूत प्रश्न जन्माएको छ-संस्थापक समूहको हित प्रतिनिधित्व गरिसकेको व्यक्ति अचानक सर्वसाधारण सेयरधनीको प्रतिनिधि कसरी बन्नसक्छ ? उनलाई सर्वसाधारण समूहबाट उम्मेदवार बन्न आवश्यक योग्यता कसरी पुग्यो ? उम्मेदवारी दर्ता, जाँच र निर्वाचनका क्रममा बैंक तथा नियामकले उनको विगतको प्रतिनिधित्व किन हेरेनन् ?

राष्ट्र बैंकलाई थाहा थिएन कि जानाजान आँखा चिम्लियो ?

नेपाल राष्ट्र बैंकले बैंक सञ्चालकहरूको योग्यता, कार्यकाल, समूहगत प्रतिनिधित्व र संस्थागत सुशासनको नियमित सुपरिवेक्षण गर्नुपर्ने हुन्छ। सञ्चालक समितिमा को कुन समूहबाट आएको छ भन्ने विवरण राष्ट्र बैंकबाट लुक्ने प्रकृतिको सूचना होइन। बैंकले सञ्चालक नियुक्ति, निर्वाचन र पद परिवर्तनसम्बन्धी विवरण नियामकलाई उपलब्ध गराउनुपर्छ।

यसअघि यही प्रकृतिको विषयमा राष्ट्र बैंकका प्रवक्ताले एउटै व्यक्तिले फरक–फरक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न नमिल्ने बताएका थिए। राष्ट्र बैंकको निर्देशनअनुसार एउटै व्यक्ति समूह फेर्दै सञ्चालक बन्न पाउने व्यवस्था नभएको र यस्तो विषय सम्बन्धित सुपरिवेक्षण विभागले हेर्नुपर्ने उनको भनाइ थियो।

तर प्रभू बैंकमा एक होइन, दुई सञ्चालकका हकमा एउटै प्रवृत्ति देखिँदासमेत नियामकबाट कुनै देखिने कारबाही भएको छैन।

अध्यक्ष कार्कीको समूह परिवर्तन बैंककै वार्षिक विवरणमा स्पष्ट छ। यस्तो खुला तथ्य हुँदाहुँदै पनि राष्ट्र बैंकले समयमै प्रश्न नउठाएको हो भने उसको सुपरिवेक्षण क्षमतामाथि प्रश्न उठ्छ। तथ्य थाहा भएर पनि कारबाही नगरिएको हो भने प्रभू बैंकले नियामकबाट विशेष सहुलियत वा संरक्षण पाइरहेको आशंकालाई थप बल पुग्छ।

यद्यपि ‘विशेष फेभर’ भएको ठोस निष्कर्ष निकाल्न राष्ट्र बैंकको निर्णय प्रक्रिया र सुपरिवेक्षणसम्बन्धी अभिलेखसमेत परीक्षण गर्नुपर्छ। तर समान प्रकृतिका दुई प्रकरण देखिँदा पनि नियामक मौन रहनुले यस्तो प्रश्न उठ्नु स्वाभाविक बनेको छ।

अब छानबिन व्यक्तिमा मात्र होइन, प्रक्रियामै हुनुपर्छ

यो प्रकरणमा कार्कीको वर्तमान पद मात्र हेरेर पुग्दैन। उनी संस्थापक समूहबाट कहिले र कुन प्रक्रियाबाट सञ्चालक बने, त्यसपछि सर्वसाधारण समूहबाट उम्मेदवारी दिन कसरी योग्य भए, निर्वाचन समितिले उम्मेदवारी कुन आधारमा स्वीकृत गर्‍यो र राष्ट्र बैंकलाई पठाइएको विवरणमा के उल्लेख थियो भन्ने सम्पूर्ण प्रक्रिया छानबिन हुनुपर्छ।

त्यसैगरी बिर्खबहादुर बस्नेतको समूह परिवर्तन र किशोरजंग कार्कीको समूह परिवर्तनबीच कुनै संस्थागत सम्बन्ध छ कि छैन भन्ने पनि खोजिनुपर्छ। एउटै बैंकमा उस्तै प्रकृतिका घटना दोहोरिनु संयोग मात्र हो वा निश्चित व्यक्तिलाई सञ्चालक समितिमा टिकाइराख्ने योजनाबद्ध अभ्यास हो भन्ने जवाफ बैंक र नियामक दुवैले दिनुपर्छ।

यदि समूह परिवर्तन गरेर सञ्चालक बन्नु नियामकीय व्यवस्थाविपरीत ठहरिन्छ भने उनीहरू सहभागी भएका सञ्चालक समितिका निर्णयको वैधानिकतामाथि समेत प्रश्न उठ्न सक्छ। विशेषगरी कार्की अध्यक्ष बनेपछि भएका महत्वपूर्ण निर्णयमा यसले थप कानुनी तथा संस्थागत जटिलता निम्त्याउन सक्छ।

प्रभू बैंकका लागि अब प्रश्न केवल ‘कुन सञ्चालक कुन समूहबाट आयो’ भन्ने रहेन। मूल प्रश्न हो-नियम बैंकलाई पनि लाग्छ कि नियामकको मौनतामा सीमित व्यक्तिले समूह परिवर्तन गर्दै बैंकको सञ्चालक समितिमा निरन्तर हालीमुहाली गर्न पाउँछन् ?

यसअघि प्रकाशित सम्बन्धित समाचारहरु :

-सिटिजन्समा रोकिएका रत्नेश्वर, प्रभूमा निरन्तर बिर्खबहादुर : एउटै नियमका दुई अनुहार

-प्रभु बैंकमा रमिता : सर्वसाधारणबाट छिरेका बस्नेत संस्थापक बनेर निरन्तर, राष्ट्र बैंक किन मौन ?

-प्रभू बैंकका सञ्चालक बस्नेतमाथि राष्ट्र बैंकको ‘कन्सर्न’, प्रवक्ता भन्छन्- समूह फेरेर सञ्चालक पदमा बस्न मिल्दैन

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.