काठमाण्डौ । यो साता आइतबार गाईजात्राको सार्वजनिक बिदा परेका कारण सेयर बजारमा ४ दिन मात्रै कारोबार भयो । अघिल्लो साता ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ४ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो ।
अघिल्लो साता २ हजार ८५०.३७ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७८८.३६ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता बजार ६२.०१ अंकले घट्यो । अघिल्लो साता बजार ७२.२६ अंकले घटेको थियो ।
यो साता ५ दिनमा ३० अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो । अघिल्लो साता भने बजारमा ४९ अर्ब ४ करोडको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुबैमा गिरावट आयो ।
यो साता बजार घट्दा बजार पूँजीकरण ४६ खर्ब ५६ अर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजी करण ४७ खर्ब ५७ अर्बको थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताहरुको सम्पति १ खर्ब १ अर्बले घट्यो ।
प्राविधिक पक्ष
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी रिट्रेसमेन्ट एउटा यस्तो टुल हो, जसले एकपटक बढेको बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ ? भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ । बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ । यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ । ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन् ।
यस आधारमा हालको बजारलाई नियाल्दा यो साता ०.५ प्रतिशतको सपोर्ट विन्दु २८१२ लाई ब्रेक गरेर तल खसेको छ । अब बजारले ०.६१ प्रतिशतको सपोर्ट २७६० विन्दु लिन सक्छ । यो साता २८७८ को विन्दुमा बन्द भएको बजारले आगामी साता पनि करेक्सन लिएमा २७६० को विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ ।

मूभिङ एभरेजको आधारमा
पछिल्लो पटक बजारलाई मूभिङ एभरेजबाट नियाल्दा ५० दिने मूभिङ एभरेज रेखा नजिक आएको देखिन्छ । यो विन्दु पनि २७६० विन्दु आसपास नै रहेको देखिन्छ । यस हिसाबले हेर्दा आगामी साता बजारमा केही अंक करेक्सन भएता पनि सपोर्ट विन्दुबाट फर्किन सक्ने सम्भावना रहन्छ । तर कारोबार तथा भोल्यूमबाट नियाल्दा भने औषत कारोबार भन्दा तल नै रहेको देखिन्छ ।

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा डेली बेसमा नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट खसेको बजार यो साता तल्लो ब्याण्ड नजिक आएको देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर नै छ । तर हिस्टोग्राम फिक्का हुन थालको छ । आरएसआई ४३ को तहमा रहेको छ । मनी फ्लो इन्डेक्स भने ओभर सोल्ड जोन १५ को तहमा पुगेको छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ३००४
प्रतिरोध २ – २९६४
प्रतिरोध १– २९०७
पिभट् प्वइन्टः २८६७
घटेमा सपोर्ट
सपोर्ट १– २८१०
सपोर्ट २– २७७०
सपोर्ट ३ –२७१३

निष्कर्षः यो सातासम्म नेप्से लगातार ३ साता घट्यो । बजार घट्दै जाँदा कारोबार पनि घट्दै गरेको देखिन्छ । यो साताको बजारलाई विभिन्न माध्यमबाट नियाल्दा करिब सपोर्ट जोन नजिक आएको देखिन्छ । फिवोनासी मार्फत नियाल्दा ०.६१ प्रतिशतको सपोर्ट नजिक रहेको छ ।
मूभिङ एभरेजबाट नियाल्दा बजार ५० दिने मूभिङ एभरेज नजिक आएको छ । मुमेन्टम इन्डिकेटर मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार करिब ओभर सोल्ड जोन नजिक आएको छ । यस हिसाबले हेर्दा यो साता लगातार तीन साता खसेको बजार यदि आगामी साता पनि केही दिन करेक्सन आउँछ भने सपोर्ट जोनबाट यू–टर्न लिन पनि सक्छ । क्षेत्रगत रुपमा हेर्दा अन्य समूह बाहेक सबै समूहमा रातो पोतियो ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।