बुधबार, श्रावण १३,२०८३ 06:21:51
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 06:21:51
Bizshala
Global IME Bank Limited

नेपाल–चीन व्यापार सहजीकरणका लागि उत्तरका थप नाका खोल्न निकासी पैठारी संघको माग

नेपाल–चीन व्यापार सहजीकरणका लागि उत्तरका थप नाका खोल्न निकासी पैठारी संघको माग
New Office

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढी पहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्थागर्न माग गरेको छ ।  

गत असार २४ गते रातिको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामानको आवागमन ठप्प भएको छ । बाढी पहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानीनाका पनि दुई सातादेखि अवरुद्ध छ । प्राकृतिक प्रकोपका कारण अकस्मात नाका बन्द हुँदा नेपालका लागि आयात भएका मालसामान बोकेका सयौं कन्टेनर र ट्रकहरु बीच बाटोमै अलपत्र परेका छन् । व्यवसायी चर्को व्यय भार बोक्न बाध्य भएका छन् ।  

यो अवस्था वर्षेनि दोहोरिरहेको परिप्रेक्ष्यमा चीनसँगको आयात–निर्यात सहज बनाउन अन्य नाकाहरु खोल्नु जरुरी रहेकोले कूटनीतिक पहलमार्फत ती नाकाहरु अविलम्ब सञ्चालनमा ल्याउन र अन्य वैकल्पिक नाकाहरुमा पूर्वाधारको व्यवस्था गर्न संघले सरकारलाई आग्रह गरेको हो ।  

व्यवस्थापिका संसदको विकास समितिले २०७२ सालमै उत्तरी नाकाहरुको अवस्था अध्ययन गरी कोरला र ओलाङ्चुङगोला नाका सञ्चालनमा ल्याउन सकिने सुझाव दिएको थियो । नेपाल र चीन सरकारका उच्च अधिकारीहरु एक दशकअघि नै द्विपक्षीय छलफलका क्रममा सातवटा उत्तरी नाका खोल्न सहमत भएका थिए । ती नाकाहरुमा तातोपानी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के थिए ।  

तर हालसम्म रसुवागढी र तातोपानी बाहेक अन्य नाका व्यापारिक प्रयोजनका लागि खुलेका छैनन् ।  

कोरला नाका १२ महिना नै सञ्चालन गर्न सकिने अवस्थामा छ । कोरला नाकामा चीनतर्फ पूर्वाधार पनि तयार छ । नेपालतर्फ पनि कोरालासम्म सडक पुगिसकेको छ । ताप्लेजुङको ओलाङ्चुङगोला नाकाबाट पनि दुई मुलुकबीचको व्यापार सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ । यी नाकाहरु छिटोभन्दा छिटो व्यापारिक प्रयोजनका लागि खुला गर्न र व्यापारिक हिसाबले उपयुक्त अन्य नाकापनि सञ्चालनमा ल्याउने वातावरण तयार गर्न संघले सरकारको ध्यानाकर्षण गराएको छ ।  

आयात व्यापारमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो । पछिल्लो समय पूर्वाधार तयार भएसँगै चीनसँगको व्यापार उत्तरी नाकातर्फ सर्ने क्रम बढेको तथ्यांकले देखाउँछ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷८२ मा तातोपानीबाट ५० अर्ब रुपैयाँभन्दा बढीको र रसुवागढी नाकाबाट ८५ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ ।  

चीनबाट चाडपर्व लक्षित सामान आयात हुने दुवै नाका बन्द हुँदा व्यापारिक गतिविधि अपेक्षाकृत बढ्न नसक्ने, आम उपभोक्ता सुपथ मूल्यमा वस्तु प्राप्त गर्नबाट वञ्चित हुने र सरकारले पाउनुपर्ने राजस्व पनि गुम्ने अवस्था रहेको तर्फ ध्यानाकर्षण गराउँदै संघले उत्तरका थप नाकाहरु व्यापारिक प्रयोजनको लागि खुला गर्नेतर्फ अविलम्ब पहल गर्न माग गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.