काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । अघिल्लो साता ४ दिन सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता २ हजार ७८८.३६ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७५८ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ३०.३९ अंकले बजार घट्यो ।
अघिल्लो साता पनि बजार ६२ अंकले घटेको थियो । यो साता बजारमा २९ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो । अघिल्लो साता भने ३० अर्ब ७५ करोडको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता पनि बजारमा कारोबार र सूचक दुवैमा गिरावट आयो । यो साता बजार घट्दा बजार पूँजीकरण ४६ खर्ब ८ अर्ब रहेको छ । अघिल्लो साता भने बजार पूाजीकरण ४६ खर्ब ५६ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताहरुको सम्पति ४८ अर्बले घट्यो ।
प्राविधिक पक्षः
प्राइस एक्सनबाट नियाल्दा
यो साताको बजारलाई इन्ट्रा डे बेसमा प्राइस एक्सनबाट नियाल्दा लोवर लो र लोवर हाईकै अबस्थामा देखिन्छ । अर्थात ३ हजारको विन्दुबाट खसेको बजारले २९ सय २९ को विन्दुमा ‘क्यारेक्टर चेञ्ज’ गरेर बियरिस यात्रा लिएको देखिन्छ । त्यसपछि बजारले हालसम्म पनि सोहि ट्रेन्डलाई नै निरन्तरता दिएको देखिन्छ ।
अघिल्लो साताहरुको तुलनामा यो साता बजार घट्ने क्रम कम भएको छ । अर्थात बजारमा वियरिस क्याण्डल छोटा–छोटा हुँदै गएको देखिन्छ । कारोबार तथा भोल्युम निकै ड्राई बन्दै गरेको अबस्था रहेको छ । यस हिसावले अगामी दिनमा बजार घट्ने क्रम रोकिएर सम्हालिन सक्ने सम्भावना रहन्छ । तर प्राविधिक रुपमा हालसम्म बजार सम्हालियो भन्ने आधार भने बनिसकेको छैन ।
इचिमोकूको आधारमा
यस आधारमा पनि बजार बियरिस यात्रामा नै रहेको देखिन्छ । वेस लाइनलाई कन्भर्जन लाइनले माथीबाट काटेको देखिन्छ । यद्यपी क्लाउड पोजिस भन्दा माथि नै बजार चलेको देखिन्छ । यस हिसावले इविमोकूबाट नियाल्दा बजारको हालको करेक्सनलाई अल्पकालिन भन्न सकिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – २९३९
प्रतिरोध २ – २९०७
प्रतिरोध १– २८४७
पिभट् प्वइन्टः २८१५
घटेमा सपोर्ट
सपोर्ट १– २७५०
सपोर्ट २– २७५६
सपोर्ट ३ –२६६५

निष्कर्षः यो सातासहित नेप्सेमा लगातार ४ साता गिरावट आएको छ । बजार घट्दै जाँदा कारोबार पनि घट्दै गरेको देखिन्छ । अघिल्लो साता ४ कारोबारमा ३० अर्ब ७५ करोडको कारोबार भएकोमा यो साताको ५ कारोबारमा जम्मा २९ अर्ब ७७ करोडबराबरको सेयर कारोबार भएको छ ।
अर्थात यो साता अघिल्लो साताको तुलनामा कारोबार र सूचक दुबै खुम्चियो । साप्ताहिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा छोटा–छोटा क्याण्डल बन्दै गरेको देखिन्छ । यसले बजारमा बिस्तारै बटम लाग्दै गरेको मान्न सकिन्छ ।
यो साताको बजारलाई विभिन्न माध्यमबाट नियाल्दा बजार करिब सपोर्ट जोन नजिक नै चलेको देखिन्छ । फिवोनासी मार्फत नियाल्दा ०.६१ प्रतिशतको सपोर्ट नजिक रहेको छ । मूभिङ एभरेजबाट नियाल्दा बजार यो साता ५० दिने मूभिङ एभरेजबाट तल खसेको देखिन्छ । मोमेन्टम इन्डिकेटर मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार करिब ओभर सोल्ड जोन नजिक आएको छ । यस हिसाबले हेर्दा यो सातासहित लगातार ४ साता खसेको बजारले बिस्तारै सम्हालिने प्रयास गर्दै गरेको मान्न सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।