काठमाण्डौ । बीमा कम्पनीहरुले सेयरबजारमा गर्ने लगानीको सीमा वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले बीमकको लगानी निर्देशिका, २०८२ जारी गर्दै बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको सेयरमा गर्ने लगानीको सीमा बढाएको हो ।
प्राधिकरणको निर्देशिका बमोजिम नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनी वा अन्य सूचीकृत संस्थाको संस्थापक वा साधारण सेयरमा बीमा कम्पनीहरुले कुल लगानीको १५ प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
यसअघि प्राधिकरणले ल्याएको बीमकको लगानी निर्देशिकामा बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको संस्थापक वा साधारण सेयरमा कुल लगानीको १० प्रतिशत रकम मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।
प्राधिकरणले पछिल्लो समय बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धिसँगै लगानीको दायरा पनि बढाएको हो । बीमा कम्पनीहरुको पुँजी बढ्दै जाँदा लगानीको सीमा पनि बढाउनुपर्ने देखिएकाले सेयरबजार लगायतका क्षेत्रहरुको सीमा वृद्धि गरिएको प्राधिकरणले जनाएको छ ।
साथै प्राधिकरणका अनुसार सेयर लगानी गरिने कम्पनीको चुक्तापूँजीको १५ प्रतिशत भन्दा बढी हुनेगरी लगानी गर्न पाइने छैन । यसअघि बीमा कम्पनीहरुले लगानी गर्ने कम्पनीको चुक्तापूँजीको ५ प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने व्यवस्था थियो । प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै यस्तो सीमा ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको थियो ।
बीमा कम्पनीहरुले आक्रामक रुपमा सेयरबजारमा लगानी बढाउँदै लगेपछि प्राधिकरण थप लचक बनेको हो । अब बीमा कम्पनीहरुले आफ्नो कुल लगानीको १५ प्रतिशत रकम सेयरबजारमा ढुक्कसँग लगानी गर्न पाउनेछन् । यसर्थमा बीमा कम्पनीहरुले सेयरबजारमा थप लगानी वृद्धि हुने देखिएको छ ।
गत आर्थिक वर्षमा बीमा कम्पनीहरुले सेयरबजारमा ४० अर्ब ८२ करोड ९० लाख रुपैयाँ लगानी गरेका थिए । यो रकम अघिल्लो आवको तुलनामा ६८.९२ प्रतिशत बढी हो । अघिल्लो आवमा बीमकहरुले यो क्षेत्रमा २४ अर्ब १७ करोड १२ लाख रुपैयाँ लगानी गरेका थिए ।